झुनझुनवालाको पोर्टफोलियो एक वर्षमै ८ हजार ८ सय करोड भारु बढ्यो

0
Shares

स्वर्गीय बिगबूल राकेश झुनझुनवालाको पोर्टफोलियो सन् २०२२ मा ८ हजार ७८२ करोड भारुले बढेको छ । एक वर्षमै उनको फोर्टफोलियो एक खर्ब ४० अर्ब ५१ करोड नेपाली रुपैयाँले बढेको हो ।

उनको लगानी रहेका केही कम्पनीहरुको मुल्य शतप्रतिशतसम्म बढेपछि सन् २०२१ को तुलनामा उनको सेयर भ्यालू ३० प्रतिशतले बढेको हो ।

सन् २०२१ मा झुनझुनवालाको भारतीय सेयरबजारमा रहेको कुल लगानी २४ हजार ४५० करोड भारु रहेको थियो । २०२२ डिसेम्बर ३० मध्यान्हसम्म आइपुग्दा सो लगानी बढेर ३३ हजार २३२ करोड भारु अर्थात नेपाली ५ खर्ब ३१ अर्ब ७० करोड रुपैयाँ पुगेको भारतीय पत्रिका फाइनान्सीयल एक्सप्रेसले उल्लेख गरेको छ ।

गत अगस्ट महिनामा उनको मृत्यु भएपछि उनको पोर्टफोलियो श्रीमती रेखा झुनझुनवालाले व्यवस्थापन गरिरहेकी छिन् । रेखा झुनझुनवालाको सेयर पोर्टफोलियो १० हजार ८५५ करोड भारु रहेको छ ।

कसरी बढ्यो ?

सेयर बादशाह झुनझुनवालाको लगानी रहेका समूहगत कम्पनीहरुको सेयर मूल्यमा अधिक वृद्धि आएसँगै उनको पोर्टफोलियो पनि बढेको हो । न्युनतम ५०० करोड लगानी रहेका आधा दर्जन कम्पनीहरुमा नोक्सानी व्यहोर्नु परेपनि उनको समग्र पोर्टफोलियो भने ३० प्रतिशतले बढेको छ ।

उनले लगानी गरेको मेट्रो ब्रान्डले ९८ प्रतिशत सेयर लगानीमा प्रतिफल दिएको छ । यस्तै इन्डियन होटल कम्पनीले ७२ प्रतिशत, कनारा बैंकले ५९ प्रतिशत, फेडरल बैंकले ५८ प्रतिशत लगानीमा प्रतिफल वितरण गरेका छन् । यी कम्पनीहरुमा झुनझुनवालाको ५०० करोड बढी लगानी रहेको छ ।

मेट्रो ब्रान्डमा उनको सेयर १४.४० प्रतिशत, इन्डियन होटलमा २.१० प्रतिशत, कनारा बैंकमा १.५ प्रतिशत, फेडरल बैंकमा २.६ प्रतिशत हिस्सादारी छ ।

स्टार हेल्थ, एपटेक लिमिटेड, टाटा मोटर्स, टाटा कम्युनिकेसन, फोर्टिस हेल्थकेयरमा भने उनलाई घाटा लागेको छ । स्टार हेल्थमा सर्वाधिक ३० प्रतिशत तथा एपटेक लिमिटेड, टाटा मोटर्स, टाटा कम्युनिकेसनमा गरिएको लगानी १० प्रतिशत भन्दा बढीले घटेको छ ।

सन् २०२२ मा भारतीय सेयर सूचांक निफ्टी र सेन्सेक्स ५ प्रतिशतले घटेता पनि झुनझुनवालाको फोर्टफोलियोमा भने आकर्षक बढोत्तरी भएको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।