नेपाली बीमा कम्पनीले विदेशमा रहेका नेपालीको पनि बीमा गर्न पाउने

0
Shares

नेपाल बीमा प्राधिकरणले विदेशमा रहेका नेपालीले पनि बीमा गर्न सक्ने व्यवस्था गर्ने भएको छ । प्राधिकरणले अगामी पाँच बर्षका लागि बीमा नीति तयार पार्दै विदेशमा रहेका नेपालीको पनि बीमा गर्ने व्यवस्था गर्ने तयारी गरेको हो ।

सरकारले जारी गरेको नयाँ बीमा ऐन २०७९ मा नेपाली बीमा कम्पनीले विदेशमा पनि शाखा कार्यालय खोल्न पाउने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार नेपाली बीमा कम्पनीले विदेशमा रहेको नेपालीको पनि बीमा गर्न पाउने व्यवस्था गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, प्राधिकरणले बीमा नीतिमा बीमा सूचना केन्द्र स्थापना गर्ने तयारी गरेको छ । बीमा ठगीबाट बढन जाने बीमा तथा पुर्नबीमा लागतको न्यूनीकरण गर्नका लागि बीमा सूचना केन्द्र स्थापना गरिने प्राधिकरणले जनाएको छ ।

यसका साथै प्राधिकरणले बीमित हित संरक्षण कोषका स्थापना गर्ने भएको छ । बीमा व्यवसायमा बीमा करार भंग भएको कारणले वा बीमितले समयमा दावी रकम लिन नआएको कारणले संकलन हुन जाने बीमा रकम बीमकको दायित्व हुने हुनाले उक्त रकमलाई निश्चित समयावधि पश्चात छुट्टै कोषमा पठाउने व्यवस्था गर्नका लागि बीमित हित संरक्षण कोष स्थापना गरिने प्राधिकरणले जनाएको छ । त्यस्तै, प्राधिकरणले बीमा मध्यस्थकर्ताको रूपमा रहेका अभिकर्ता, सर्भेयर तथा दलालहरूको उचित नियमन गरिने बताएको छ ।

साथै प्राधिकणले जलवायु परिवर्तनबाट हुने जोखिमलाई बीमा सेवासंग आवद्ध गर्ने बीमा नीतिमा उल्लेख गरेको छ । प्राकृतिक प्रकोपबाट उत्पन्न हुने जोखिम न्यूनीकरणका लागि बिशेष प्रकृतिका बीमा सेवा उपलब्ध गराउने, बीमा पोलिसीहरूलाई भौगोलिक तथा सामाजिक आधारमा बिविधिकरण तथा स्थानीयकरण गर्ने, गरिबीको रेखामुनी रहेका बीमितको बीमाशुल्कमा अनुदान लगायत विशेष सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।