हालसम्मकै ठूलो म्युचुअल फण्ड ‘एनआईबिएल ग्रोथ फन्ड’ मा देखियो आकर्षण, आज आवेदन दिने अन्तिम दिन

0
Shares

एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने एनआईबिएल ग्रोथ फन्डका इकाइहरु खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

हालसम्मकै सबैभन्दा ठूलो म्युचुअल फण्ड योजनाको सार्वजनिक निष्काशन समेत रहको “एनआईबिएलग्रोथ फण्ड”मा १४ औं दिनसम्म उत्साहजनक आवदेन परेको छ ।

सार्वजनिक निष्कासनको १४औँ दिनसम्ममा यस योजनाले कुल १६ करोड इकाइमध्येकरिब ४१ हजार बढी आवदेकबाट करिब १२।३ करोडभन्दा बढी इकाइका लागि आवेदन प्राप्त गरिसकेको क्यापिटलले जनाएको छ । वर्तमान तरलताको अवस्था तथा समग्र आर्थिक गतिविधिमा आएको सुस्तताका बाबजदु यस योजनामा आमलगानीकर्ताहले उत्साहका साथ लगानी गरिरहेका छन् ।

कोष प्रवद्र्धक नेपाल इन्भेस्टमेन्ट बैंक र योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले पुस ७ गतेदेखि यस योजनाका कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको इकाइहरु बिक्री खुला गरेको थियो ।

एनआईबिएल ग्रोथ फन्ड योजनाका १० रुपैयाँ अंकित दरका कुल १६ करोड इकाइ बिक्री खुला गरिएकोमा कुल इकाइमध्ये बीजपुँजीबापत १ प्रतिशत अर्थात १६ लाख इकाइ योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र १९ प्रतिशत अर्थात ३ करोड ४ लाख इकाइ कोष प्रवद्र्धक नेपाल इन्भेस्टमेनट बैंकका लागि छुट्याइएको छ। बाँकी न्यूनतम १२ करोड ८० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड ६० लाख इकाइसम्म खरिद आवेदन दिन सकिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट खरिद आवेदन दिन सक्नेछन् ।

समयावधि १० वर्षको रहेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो म्युचुअल फन्ड हो । उक्त अवधिभर यस योजनाले वार्षिक प्रतिफलका रुपमा २०।२५ प्रतिशत प्रतिफल आफ्ना इकाइधनीलाई दिनसक्ने प्रक्षेपण गरेको छ।

यस योजनाका इकाइहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भई योजनाको समयावधिसम्म दोस्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने क्यापिटलले जनाएको छ।

एनआईबिएल म्युचुअल फन्डअन्तर्गत यसअघि नै ३ वटा बन्दमुखी योजना तथा एउटा खुलामुखी योजनासमेत सञ्चालनमा छन्। ‘एनआईबिएल समृद्धि फन्ड–१’ आफ्नो ७ वर्षे समयावधि पूूरा भई परिपक्क भइसकेको र उक्त योजनाले वार्षिक १८ प्रतिशत औसत प्रतिफलसमेत वितरण गरिसकेको छ।

त्यस्तै अन्य दुई बन्दमुखी योजना एनआईबिएल प्रगति फन्ड र एनआईबिएल समृद्धि फन्ड–२ समेत सञ्चालनमा रहेका छन्। यसका साथै नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फन्ड’ पनि यसै म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा रहेको छ। यस योजनाले समेत हालसम्म कुल ६५.४५ प्रतिशत लाभांश वितरण गरी वार्षिक २२ प्रतिशत औसत प्रतिफलसमेत कायम राख्न सफल रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।