बढ्दो ब्याजदरले अटोमोबाइल मार्केटमा धक्का, बिक्रीमा उच्च गिरावट

0
Shares

विकसित देशका केन्द्रिय बैंकहरुले आक्रामक शैलीमा ब्याजदर बढाउँदा अटोमोबाइल मार्केटमा ठूलो धक्का पुगेको छ । उच्च ब्याजदरका कारण ग्राहकहरुले सवारी साधन खरिद गर्न छाडेका छन् । जसकारण कम्पनीहरुको बिक्री दरमा भारी गिरावट आएको छ।

सन् २०२१ को तुलनामा सन् २०२२ मा अटोमोबाइल कम्पनीहरुको सेल्समा भारी गिरावट आएको छ । अमेरिकामा यो वर्ष मात्रै १४ लाख कारहरुको बिक्री भएको छ । यसअघि कोरोना संक्रमण फैलिएको वर्षमा अटोमोबाइल कम्पनीहरुले १७ लाख भन्दा धेरै सवारी साधनहरुको बिक्री गरेका थिए ।

ब्याजदरमा भएको वृद्धि, मन्दीको प्रबल सम्भावना लगायतका कारणले ग्राहकहरुले खर्च कटौती गरेका छन् । जसकारण महामारीको समयमा बढेको अटोमोबाइल कम्पनीहरुको सेल्स सन् २०२२ मा खुम्चिएको छ ।

कोरोना महामारीको समयमा विश्वव्यापी रुपमा चीप अभावको समस्या व्याप्त थियो । चीप अभावका कारण ठूला अटोमोबाइल कम्पनीहरुको उत्पादनमा गिरावट आएको थियो । तर सन् २०२२ मा चीप अभावको समस्या नभएता पनि उत्पादन गरे अनुसार सवारी साधनहरुको बिक्री हुन सकेको छैन ।

सन् २०२२ मा अटोमोबाइल कम्पनी होन्डाको बिक्री ३३ प्रतिशतले घटेको छ । यस्तै अटोमेकर कम्पनी निशानको २५ प्रतिशत, स्टालान्टीसको १३ प्रतिशत र टोयोटाको बिक्रीदरमा १० प्रतिशतको गिरावट आएको कम्पनीहरुले जनाएका छन् ।

तथापि इन्जिन कारहरु मात्रै नभई विद्युतीय कारहरु उत्पादन गर्ने हुण्डाई कम्पनीको बिक्री २ प्रतिशतले मात्रै घटेको छ भने जेनरल मोटर्स कम्पनीको बिक्रीदर २.५ प्रतिशतले बढेको छ ।

विश्व बजारमा विभिन्न अटोमोबाइल कमपनीहरुबीच प्रतिस्पर्धा बढेको कारण र मानिसहरुको रोजाइ इन्जिन कारहरुमा मात्रै सिमित नभई विद्युतीय कारहरुमा पनि बढेको कारण कम्पनीहरुको सेल्समा गिरावट आएको छ ।

यस्तै केन्द्रिय बैंकहरुले ब्याजदरमा गरेको वृद्धिका कारण कर्जा लिनका लागि अफ्ठ्यारो परिस्थिति सिर्जना भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।