एभरेष्ट बैंकको ४ लाख कित्ता सेयर सूचीकृत

0
Shares

एभरेष्ट बैंकले बिहीबार ४ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गरेको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुनसक्ने गरी बैंकको उक्त सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

बैंकको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता अग्राधिकार सेयर सूचीकृत भएको हो । उक्त सेयर बैंकले अग्राधिकार सेयरबाट अन्तिम पटक साधारण सेयरमा रुपान्तरण गरेको थियो ।

बैंकमा कुल २० लाख कित्ता अग्राधिकार सेयर रहेकोमा सो सेयरलाई चरणबद्ध रुपमा पाँच किस्तामा ४/४ लाख कित्ताका दरले साधारण सेयरमा रुपान्तरण गरेको हो । यो रुपान्तरण अन्तिम हो । यससँगै एरभेष्ट बैंमा रहेको अग्राधिकार सेयर जति सबै साधारण सेयर बनेको छ ।

एभरेष्ट बैंकले चुक्ता पूँजीको ७ प्रतिशत प्रतिफल दिनेगरी कन्र्भटेबल अग्राधिकार सेयर जारी गरेको थियो । हरेक ३।३ वर्षमा २० प्रतिशतका दरले साधारण सेयरमा रुपान्तरण गर्ने व्यवस्था अनुसार बैंकले असोज ९ गते चौथो पटक अग्राधिकार सेयरलाई साधारणमा परिणत गरेको थियो । सोही सेयर बिहीबार नेप्सेमा सूचीकृत गरेको हो । अग्राधिकार सेयरलाई अन्तिम पटक रुपान्तरणका लागि बैंकले २०७९ असोज २ गतेदेखि अग्राधिकार सेयरको सेयर दाखिला दर्ता बन्द (बुकक्लोज) गरेको थियो ।

संस्थाले निष्काशन गरेको सेयरमध्ये प्रतिफल तथा पूँजी फिर्तामा अग्र अधिकार हुने सेयरलाई अग्राधिकार सेयर भनिन्छ । अग्राधिकार सेयरमा सेयरपुँजी तथा ऋण दुबैको मिश्रीत विशेषता हुने गर्दछ । अग्राधिकार सेयर निष्काशन गर्दा कम्पनी ऐन, २०६३ मा उल्लेख भएको व्यवस्थालाई पालना गरी गर्नु पर्ने हुन्छ भने यो समुहको सेयरहरूले साधारण सेयरधनीहरु भन्दा अधि रकम तथा प्रतिफल प्राप्त गर्ने अधिकार राख्दछ ।

अग्राधिकार सेयर संस्थाको पूँजीको रूपमा रहने भएता पनि यसको सेयरधनीले संस्थाको साधारण सभामा मत हाल्ने अधिकार भने हुँदैन तर यसमा निश्चित दरमा लाभांश प्राप्त गर्ने अधिकार यस प्रकारको सेयरधनीलाई हुन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।