प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रमा देखिएका समस्या हल गर्न नतिजामुखी काम गर्नुपर्नेमा जोड दिएका छन् ।
ग्लोबल आइएमई बैंक तथा बैंक अफ काठमाडौंबीच एक आपसमा गाभ्ने (मर्जर) सम्पन्न भई एकीकृत कारोवारको शुभारम्भको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र लगायत विभिन्न क्षेत्रमा नतिजामुखी काम तत्काल गर्न जरुरी रहेको बताए ।
उनले भने, “यही आवश्यकता बुझेर नै पहिलो मन्त्रिपरिषदको बैठकबाटै अर्थतन्त्रलाई गतिशिल बनाउन वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रसँगको सहकार्य र सहयोगलाई वस्तुपरक रुपमा घनिभूत गराउने निर्णय समेत गरेका छौं ।”
दुई ठूला बैंक एक आपसमा गाभिएर एकीकृत कारोबार शुभारम्भ हुनु राष्ट्रको लागि महत्वपूर्ण कदम रहेको बताउँदै प्रधानमन्त्रीले यसबाट, हाम्रो देशले अझ बलियो, थप विविध र थप गतिशील बैंकिङ क्षेत्र प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु
“अहिले मर्जर लगायतका क्रियाकलाप पश्चात ठूला परियोजनामा श्रोत जुटाउन सहज हुने, अझ बढी दक्षता वृद्धि हुने र वित्तिय क्षेत्रमा कहिलेकाहिँ देखिने अस्वस्थ प्रतिस्पर्धा पनि हट्ने अपेक्षा गर्न सकिन्छ।” उनले भने, “तर यो क्रममा नागरिक र सेवाग्राहीको पहुँचमा भने ह्रास नआओस भन्ने कुराको हेक्का राख्न जरुरी छ।”
बैंकिङ क्षेत्रको विस्तार र सुध्रिढिकरणले दिएको अवसरको सही उपयोग गर्न सकियो भने ऋण तथा लगानीका श्रोतमा पहुँच बढेसँगै अर्थतन्त्रलाई गति मिल्ने र आम नागरिक तथा व्यवसायहरुको उत्थानशीलता बढ्ने बताए ।
विप्रेषणको कारोवारलाई भरपर्दो र सुरक्षित गर्न समेत बैंक क्षेत्रको ठूलो भूमिका रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले ठूला परियोजनामा मात्र नभएर नवीनतम बैंकिंग तथा वित्तीय प्रोडक्ट प्रयोग गरेर आम जनताको वित्तिय क्षेत्रमा पहुँच, वित्तीय साक्षरता र स्वरोजगारका क्षेत्रमा समेत बैंकिङ क्षेत्रले योगदान गर्नु जरुरी रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले वित्तीय, मौद्रिक, पुँजीवजार, सहकारी, बीमा र निजी कम्पनीका निकायहरूबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यक नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया