अवसर इक्वीटीलाई ५ अर्बको प्राइभेट इक्वीटी फण्ड सञ्चालनका लागि बोर्डको अनुमति

0
Shares

नेपाल धितोपत्र बोर्डले अवसर इक्वीटी लिमिटेडलाई ५ अर्ब बराबरको प्राइभेट इक्वीटी फण्ड सञ्चालनको अनुमति दिएको छ । बोर्डले अवसर इक्वीटी लिमिटेड कोष व्यवस्थापक रहेको अवसर इक्वीटी डाइभर्सिफाइ फण्ड सञ्चालनका लागि अनुमति दिएको हो ।

बोर्डबाट फण्ड सञ्चालनको अनुमति पाएसँगै प्राइभेट इक्वीटीमा लगानीको बाटो खुला भएको छ । फण्ड सञ्चालनका लागि बढीमा दुई सय जना ठूला लगानीकर्ताबाट रकम जुटाइने कोष व्यवस्थापक अवसर इक्युटीका एक अधिकारीले जानकारी दिए ।

फण्ड सञ्चालनको स्वीकृति पाएको तीन महिनादेखि दुई वर्षसम्म निष्कासन गरिसक्नुपर्ने व्यवस्था रहेको छ । सोही अनुरुप फण्डले आगामी तीन महिनाभित्रबाटै रकम जुटाउने तयारी समेत गरेको छ । प्राइभेट इक्वीटी फण्ड सञ्चालनका लागि प्राइभेट प्लेसमेन्ट मार्फत मात्र रकम जुटाउन पाइन्छ यसमा सर्वसाधारण मार्फत रकम जुटाउन पाइँदैन् । एक जना लगानीकर्ताबाट न्यूनतम ५० लाखसम्म रकम उठाउन सकिने व्यवस्था रहेको छ ।

प्राइभेट इक्वीटी फण्ड सञ्चालनको अनुमतिसँगै विदेशी लगानी भित्र्याउने अर्को बाटो समेत खुलेको छ । यसमा अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ताहरुले पनि लगानी गर्न पाउने व्यवस्था रहेको छ । फण्डको पहिलो निष्कासन भएसँगै विदेशी लगानीकर्ता भित्र्याउने समेत कोष व्यवस्थापकको योजना रहेको छ ।

प्राइभेट इक्वीटी फण्ड सञ्चालनमा आएसँगै ठूला ठूला विकास परियोजनाहरु अगाडि बढाउन र मुलुकको आर्थिक विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । प्राइभेट इक्वीटी फण्ड अलिकति जोखिम पनि लिएर लगानी गर्न चाहानेका लागि उपयुक्त माध्यम रहेको जानकारहरु बताउँछन् ।

यसले उद्योग व्यवसाय, विभिन्न विकास परियोजना, नवपर्वित क्षेत्रहरुमा लगानी गर्ने गर्छ । यस्ता फण्डहरुमा भारतमा ६५ प्रतिशतसम्म विदेशी लगानी आउने गरेको छ । नेपालमा पनि यो विदेशी लगानी भित्र्याउने सबैभन्दा उपयुक्त माध्यम हुने अपेक्षा गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।