मध्य सोलुखोला जलविद्युत आयोजनाले आईपीओ बेच्न माग्यो अनुमति

0
Shares

मध्य सोलुखोला जलविद्युत आयोजना (मिड सोलु हाइड्रोपावर) ले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्रीका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । बोर्डका अनुसार कम्पनीले माघ ११ गते अनुमति माग गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणका लागि कुल १४ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति मागेको हो । कम्पनीले पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि तथा दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ता (कर्मचारी र म्युचुअल फन्ड समेत) आईपीओ निष्कासन गर्नेछ।

कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १४ लाख ९६ हजार ८०० कित्ता आईपीओ बिक्री गर्नका लागि एनआईसी एसिया क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध समेत चयन गरेको छ ।

कम्पनीले सोलुखुम्बुमा ९.५ मेगावाटको मिड सोलु खोला जलविद्युत आयोजना निर्माण गरेको छ । गत मंसिर २५ गतेबाट २० दिनसम्म गरिएको परीक्षण उत्पादन सफल भएपछि आयोजनाले माघ १३ गते शुक्रबारबाट व्यवसायिक उत्पादन थालेको छ। ९.५ मेगावाट क्षमताको आयोजनाले हिउँद सिजनमा ५ मेगावाट मात्रै विद्युत उत्पादन गर्न सक्ने मिड सोलु हाइड्रोपावर लिमिटेडका निर्देशक माधव मैनालीले जानकारी दिए ।

२०७७ असोजमा निर्माण सुरु भएको १३२ केभी प्रसारण लाइन आयोजनाको पावर हाउसदेखि खोरिया हुँदै सोलु करिडोरको सवस्टेशन तिङलामा जोडिएको छ। दुई वर्षमै निर्माण सम्पन्न भएको अयोजनाको विद्युत गृह सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पुमा रहेको छ। परियोजनाको निर्माण लागत करिब २ अर्ब रहेको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।