६ महिनामा ९४ अर्बको धितोपत्र सूचीकृत, २२ अर्बको निष्काशन अनुमति

0
Shares

आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा धितोपत्र बजारमा ९४ अर्ब बढीको धितोपत्र सूचीकृत भएको छ । पछिल्लो ६ महिनामा विकास ऋणपत्र, डिबेन्चर, साधारण शेयर, बोनस सेयर, म्युचुअल फण्ड र हकप्रदगरी कुल ९४ अर्ब २१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको हो ।

राष्ट्र बैंकका अनुसार यसअवधिमा ३५ अर्ब बराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोड बराबरको डिबेन्चर, ११ अर्ब ८० करोड बराबरको साधारण सेयर, १० अर्ब ८० करोड बराबरको बोनस सेयर,४ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र ३ अर्ब ६७ करोड बराबरको हकप्रद सेयर गरी कुल ९४ अर्ब २१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका हुन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब २० करोड बराबरको डिबेन्चर, ७ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड, ४ अर्ब ९ करोड बराबरको साधारण शेयर र ९५ करोड बराबरको हकप्रद शेयर गरी कुल २१ अर्ब ९९ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

२०७९ पुसमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २४९ पुगेको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १४९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ६३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७८ पुसमा सूचीकृत कम्पनीहरूको संख्या २२५ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६६.२ प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत्कम्पनीको हिस्सा १२.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.२ प्रतिशत, होटेलको हिस्सा १.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७९ पुस मसान्तमा सूचीकृत ७ अर्ब १० करोड शेयरको चुक्ता मूल्य ७ खर्ब २ करोड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।