सरकारले जनयुद्ध दिवसमा भोलि सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
तत्कालीन नेकपा माओवादी २०५२ साल फागुन १ गते जनयुद्ध घोषणा गरेको थियो । त्यसदिनलाई नेकपा माओवादीले जनयुद्ध दिवशका रुपमा मनाउँदै आएपनि सरकारले पहिलो पटक सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
माओवादीले जनयद्ध छाडेर २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । जनयुद्धकै जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनबाटै स्थापित भएको हो ।
यसैबीच मानव अधिकार तथा शान्ति समाजले फागुन १ गते ‘जनयुद्ध दिवस’ का नाममा सार्वजनिक बिदा दिने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ । यो विवादास्पद निर्णय लोकतन्त्र र अहिंसाका सार्वभौम मान्यताको प्रतिकूल छ भन्ने शान्ति समाजको धारणा छ ।
यसअघि बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को माघ २४ को बैठक र त्यस अघि कर्णाली प्रदेश सरकारले पनि २०७९ फागुन १ गते सोमबार ‘जनयुद्ध दिवस’ को अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेका थिए ।
संघीय सरकारले यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक विदा दिएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
