विचौलियाका कारण तरकारीबाट लगानी उठाउनै मुस्किल

विचौलियाका कारण तरकारीबाट लगानी उठाउनै मुस्किल

कैलालीको टीकापुर नगरपालिका–९ वनगाउँका माधव चौधरी तरकारीमा विचौलियाका कारण वस्तुको मूल्य आफुले नपाएको गुनासो गर्छन् ।

चौधरीले पाँचवर्षदेखि तरकारी व्यवसाय गर्दै आएका छन् । एक बिघा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका उनलाई तरकारी लगाउँदाको भन्दा बढी पीडा तरकारी बिक्री गर्न नसक्दा हुन्छ । बेमौसमी तरकारीबाट राम्रो आम्दानी हुने गरेको भए पनि मौसमी तरकारी बजारीकरणको अभाव बारीमै सड्ने गरेको उनी बताउछन् । ‘अहिले काउलीको बजार मल्य निकै ओरालो लागेको छ । एक महिना पहिलेसम्म प्रतिकेजी ६० रुपैयाँ मा बिक्री हुने काउली अहिले १० रुपैयाँमा पनि बिक्री हुँदैन । उनी भन्छन्, ‘व्यवसाय गरेर पनि के गर्नु ? उत्पादन भएको वस्तुबाट लगानी नै उठाउन सकिँदैन । यस्तो अवस्थामा जागर मरेर आउँछ ।’

उनी १० रुपैयाँ मै काउली बिक्रीका लागि टीकापुरमा लाग्ने कृषि हाटबजार पुग्छन् । उनले व्यवसाय गरेको क्षेत्रबाट टीकापुर पुग्न १५ किलोमिटरको दूरी छ । ट्र्याक्टरमा तरकारी ल्याउँदा त्योभन्दा बढी लगानी लाग्ने गरेको छ । ‘बारीमै सड्नुभन्दा अलिकति मलखादका लागि पैसा आउँछ कि भनेर हाटबजार पुग्ने गरेको छु ।’

उनले भने, ‘अहिले कुनै पनि तरकारीले बजार पाउने अवस्था छैन । भारतबाट आयातीत तरकारीले स्थानीय उत्पादनलाई विस्थापित गर्दै आएको छ ।’ सोही ठाँउका रामचन्द्र चौधरी पनि व्यावसायिक तरकारी खेती गर्छन् । उनको बारीमा काउली र आलु फलेको छ । दुवैको बजार मूल्य निकै कम छ । उनका अनुसार एक केजी आलु फलाउन आफ्नो मिहेनत छोडेर १५ रुपैयाँदेखि २० रुपैयाँसम्म लागत लाग्छ । अहिले बजारमा २० रुपैयाँमा पनि आलु बिक्री भइरहेको छैन ।

‘बजारमा आलु बिक्री हुँदैन । भण्डारण गर्नलाई उचित ठाउँ छैन । लागतभन्दा कममा भए पनि उत्पादन भएको बस्तु बिक्री गर्नुपर्ने बाध्यता छ ।’ उनले भने, ‘भारतबाट १५ रुपैयाँ भन्दा सस्तोमा आलु आइपुग्छ । त्यो पनि बिना भन्सार । व्यापारीले सस्तोमा सामान पाए हाम्रो उत्पादन खरिद गर्ने कुरै भएन ।’

कृषक बजारीकरणको समस्याका कारण विस्थापित हुँदै गएका छन् । अर्कोतिर स्थानीय क्षेत्रमा तरकारी भण्डारणका लागि शीतभण्डारको अभाव छ । किसानले कृषिमा राम्रो अनुदान पाएको भए पनि उत्पादन भएको वस्तुको बजारीकरण हुन सकेमात्र अन्यलाई कृषिमा आकर्षित गर्न सकिने स्थानीय बुद्धिराम चौधरी बताउँछन् ।

‘नजिकै भारतीय बजार छ । त्यहाँबाट अवैधरुपमा तरकारीलगायतका खाद्य सामग्रीको आयात हुँदै आएको छ । त्यसले स्थानीय उत्पादनमा निकै ठूलो असर पारेको छ ।’ उनले भने, ‘बाह्य तरकारीलाई निरुत्साहित गर्न सके व्यावसायिक कृषिमा लागेका किसानलाई ठूलो राहत हुनसक्छ ।’
स्थानीय सरकारले पनि स्थानीय उत्पादनलाई विशेष प्राथमिकतामा राखेको छ । कृषिबाटै आत्मनिर्भर बनाउनका लागि विभिन्न क्षेत्रमा अनुदान तथा प्राविधिक सहयोग गर्दै आएको स्थानीय सरकारले बजारीकरणमा ध्यान पु¥याउन नसकेको किसानको गुनासो छ ।

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरीया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले वार्षिक करोडौँ रकम कृषि अनुदानमा खर्च गर्दै आएको छ । त्यस अनुदानबाट किसान खुसी छन् ।

‘आयोजनाले किसानका लागि धेरै काम गरेको छ । यसबाट कृषिमा आकर्षित हुने युवाहरुको सङ्ख्या बढ्दै गएको पनि देखिन्छ । कृषक श्रीराम कठरिया भन्छन्, समस्या बजारीकरणको हो । बजारीकरणमा स्थानीय सरकारले समन्वय गर्नसके आत्मनिर्भरका लागि कृषि महत्त्वपूर्ण पेसा बन्न सक्छ ।’

अनुदान लिँदा खुसी हुने किसान उत्पादन भएको वस्तु बिक्रीका लागि बजार नपाउँदा दुखी हुने गरेको उनी बताउँछन् । अनुदान लिँदा निकै खुसीको अनुभूति हुन्छ । अब धेरै उत्पादन गर्ने सोचका साथ काम गरिन्छ । उत्पादन पनि राम्रै हुन्छ,’ उनले भने, ‘बिक्री गर्दा निकै तनाव । कसैलाई सित्तैमा दिएजस्तो हुन्छ । जुन लगानी भन्दा कममा भए पनि बिक्री गर्नुपर्छ ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ फागुन २०७९, बिहीबार १२ : ०८ बजे