मौद्रिक नीतिको समीक्षा पश्चात पहिलो पटक सुधारियो सेयर बजार

0
Shares

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा सार्वजनिक गरेपछि लगातार ओरालो लागेको सेयर बजार फागुन १० गते पहिलो पटक सकारात्मक देखिएको छ ।

गत माघ २७ गते शुक्रबार राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा सार्वजनिक गरेको थियो । मौद्रिक समीक्षाले सेयर लगानीकर्ताका मागहरु सम्बोधन नगरेपछि लगानीकर्ताहरु निरुत्साहीत हुँदा सेयर बजार निरन्तर ओरालो लागेको थियो।

मौद्रिक नीतिको समीक्षा पश्चात माघ २९ गते आइतबार र फागुन लागेपछि ५ दिन गरेर ६ कारोबार दिन मात्र सेयर बजार खुला रहेको छ । यसअवधिमा नेप्से सूचक झण्डै १३६ अंकले ओरालो लागिसकेको थियो । पाँच कारोबारमा दिनमा लगातार घटेको नेप्सेमा फागुन १० गते बुधबार भने साढे ३३ अंकको सुधार आएको छ ।

सेयर लगानीकर्ताका तीन वटा संस्थाले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि चार सुझाव दिएका थिए । जसको सम्बोधन हुन नसकेपछि बजार ओरालो लागिरहेको थियो ।

लगानीकर्ताले राष्ट्र बैंकलाई १२ करोड सेयर कर्जाको सीमा हटाउन, सेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गर्न, एकल अंकमा व्याजदर कायम गर्न र तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था सृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गर्न राष्ट्र बैंकलाई आग्रह गरेका थिए।

बजार निरन्तर घटेर १३६ विन्दु तल झरेपछि नाफा बुक गरिसकेका लगानीकर्ताहरु पुनः बजार फर्किन थालेपछि सेयर बजारमा सुधार देखिएको हो । बुधबार नेप्से सूचक ३३.५७ अंकले बढेर २०८०.३८ विन्दुमा उक्लिएको छ । यसदिन २६९ कम्पनीको एक अर्ब ८० करोड ३२ लाख ८२ हजार बराबरको सेयर किनबेच भयो।

नेप्सेका अनुसार आज कारोबार भएको कम्पनीमध्ये तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज विर्टी इनर्जी कम्पनीको शेयरमूल्य ९.८० अंकले बढेर प्रतिकित्ता २८८.८० रुपैयाँ पुगेको छ । त्यस्तै, छ्याङदी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.५६ प्रतिशतले बढेर प्रतिकित्ता ३६८ रुपैयाँ पुगेको छ भने दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता ३४५ रुपैयाँ पुगेको हो ।

आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेड कम्पनीको भएको छ । यसको आज १३ करोड २७ लाखभन्दा बढीको कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।