इन्भेष्टमेण्ट मेगा बैंकको ३४ करोड कित्ता नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार खुल्ने

0
Shares

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कुल ३४ करोड १२ लाख ८५ हजार ९४९ कित्ता सेयर बुधबार सूचीकृत भएको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी फागुन १० गते बुधबार बैंकको सेयर सूचीकृत भएको हो ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नामबाट धितोपत्रको सूचीकरण गरी भएसँगै मर्जर प्रयोजनको लागि रोक्का रहेको बैंकको सेयर कारोबार समेत फुकुवा भएको छ । विसं २०७९ जेठ २७ गते एक आपसमा मर्जर गर्ने मर्जर सम्झौतापछि दुबै बैंकको नेपाल स्टक एक्सचेञ्जमा जेठ ३० गतेदेखि सेयर कारोबार रोक्का थियो । 

नेप्सेले बैंकको सेयर कारोबारका लागि सुरुवाति मूल्य २३६.८५ रुपैयाँ तोकेको छ । नेप्सेले दिएको मूल्यलाई आधार मानेर बैंकको बिहीबार धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्नेछ । बैंकको सेयर कारोबार एनआईएमबी (NIMB) कारोबार सिम्बोलमा सुचारू हुनेछ ।

साविकको नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड एकआपसमा १ः०.९० को अनुपातमा कायम हुनेगरी मर्जर भएका हुन् ।यसको मतलव इन्भेष्टमेण्ट बैंकको १०० कित्ता सेयर छ भने उसको सेयर संख्यामा कुनै परिवर्तन भएको छैन। मेगा बैंकको १०० कित्ता सेयर हुने सेयरधनीहरूको घटेर ९० कित्ता कायम भएको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालले पुस २७ गतेदेखि एकीकृत कारोबार सुरू गरेका थिए । दुई बैंक एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरू गरेका हुन् । मर्जरपछि बन्ने बैंकको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको काठमाडौं जिल्ला वडा नं १ दरबारमार्गमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।