नेपालले १५३ देशसँग वैदेशिक व्यापार गर्दा १२० सँग घाटा

0
Shares

आर्थिक वर्ष २०७९/८० को सात महिना अवधिमा नेपालले १५३ देशसँग वैदेशिक व्यापार गरेको छ । यस अवधिमा वैदेशिक व्यापार गरेका कुल १५३ देशहरुमध्ये नेपालले १२० देशहरुसँग व्यापार घाटा व्यहोर्दै आएको छ भने ३३ देशहरुसँगको व्यापार नाफामा रहेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको ७ महिनाको तथ्यांक अनुसार नेपालले ९ खर्ब १९ अर्ब बराबरको आयात गरेको छ भने ९३ अर्ब बराबरको निर्यात गरेको छ । निर्यात भन्दा आयात धेरै हुँदा नेपालको व्यापार घाटा ८ खर्ब २५ अर्ब रहेको छ ।

गत ७ महिनामा नेपालको व्यापार नाफा ३३ देशहरुसँग रहेको छ भने १२० देशसँग व्यापार घाटा छ । जसअन्तर्गत भारतसँग मात्रै ५ खर्ब ४ अर्ब बढी व्यापार घाटा रहेको छ । व्यापारिक नाफा हुने देशहरुको शीर्ष स्थानमा डेनमार्क रहेको छ ।

व्यापारिक नाफा भएका राष्ट्रहरु

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुुसार नेपालको वैदेशिक व्यापार सम्बन्ध रहेका कुल १५३ देशहरु मध्ये ३३ देशहरुसँग नाफा रहेको छ । सबैभन्दा धेरै व्यापार नाफा हुने देशमा डेनमार्क रहेको छ भने दोस्रो स्थानमा अमेरिका छ । यस्तै ३३ देशहरु मध्ये शीर्ष १० वैदेशिक व्यापार नाफा हुने राष्ट्रहरुमा अल्जेरिया, कम्बोडिया, नर्बे, रोमनिया, उरुग्बे, अफगानिस्तान, लात्भिया रहेका छन् ।

नेपालले डेनमार्कमा ५९ करोड ४५ लाख बराबरको निर्यात गरेको छ भने डेनमार्कबाट २० करोड ४० लाख बराबरको वस्तु आयात गरेको छ । यस्तै १० अर्ब ७३ करोड ६४ लाख बराबरको वस्तु नेपालले अमेरिका निर्यात गरेको छ भने १० अर्ब ६४ करोड ८८ लाख बराबरको वस्तु आयात गरेको छ । नेपालले अल्जेरियामा ७ करोड ३० लाख बराबरको वस्तु निर्यात गरेको छ भने निर्यात शून्य छ ।

कम्बोडियामा नेपालले ११ करोड ३४ लाख बराबरको वस्तु निर्यात गरेको छ भने ४ करोड ४१ लाखको आयात गरेको छ । यस्तै व्यापार नाफा हुने देशहरुको पाँचौ स्थानमा रहेको नर्वेमा नेपालले १२ करोड ५२ लाखको वस्तु निर्यात गरेको छ भने ६ करोड ६१ लाख बराबरको आयात गरेको छ ।

नेपालले यी देशहरुमा विशेषतः गलैंचा, राडी पाखी, कफी लगायतका सामाग्रीहरुको निर्यात गर्दै आएको भन्सार विभागले जनाएको छ । सबैभन्दा धेरै व्यापार नाफा रहेका देशहरु यस प्रकार रहेका छन्।

१२० देशसँग व्यापार घाटा

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो ७ महिनाको तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापार १२० देशहरुसँग घाटामा रहेको छ । कुल घाटाको ५४.९१ प्रतिशत हिस्सा भारतले मात्रै ओगटेको छ भने १३ प्रतिशत व्यापार घाटा चीनले ओगटेको छ।

साउन देखि माघ महिनाको अवधिसम्म नेपालले भारतबाट ५ खर्ब ७० अर्ब बराबरको आयात गरेको छ भने ६६ अर्ब २२ करोड बराबरको निर्यात गरेको छ । नेपाल र भारतबीच खुल्ला नाका भएका कारण नेपालमा आयातका लागि भारतमा निर्भर रहेको छ । नेपालले गर्ने कुल व्यापारको ६१ प्रतिशत हिस्सा भारतले ओगटेको छ । चालु आवको ७ महिनामा नै भारतसँगको व्यापार घाटा ५ अर्ब ४ अर्ब बढी रहेको छ ।

यस्तै नेपालले चीनबाट १ खर्ब २५ अर्ब बराबरको सामान तथा वस्तु आयात गरेको छ भने ४२ करोड २६ लाख बराबरको वस्तु निर्यात गरेको छ । जसकारण चीनसँगको व्यापार घाटा १ अर्ब २४ अर्ब रहेको छ जुन कुल व्यापार घाटाको १३.५६ प्रतिशत हो ।

कुल व्यापार घाटाको २ प्रतिशत भन्दा धेरै हिस्सा भएका राष्ट्रहरुमा इन्डोनेशिया, युनाइटेड अरब इमिरेट्स (युएई) र अर्जेन्टीना रहेका छन् । नेपालले इन्डोनेशियाबाट २६ करोड ७२ लाख बराबरको सामान आयात गरेको छ भने १० करोड ३६ लाख बराबरको वस्तु निर्यात गरेको छ जसकारण इन्डोनेसियासँग नेपालको व्यापार घाटा कुल व्यापार घाटाको २.९ प्रतिशत रहेको छ । साथै युएईसँग व्यापार घाटा २.१८ प्रतिशत छ भने अर्जेन्टीनासँग २.०२ प्रतिशत छ ।

यस्तै १ प्रतिशत भन्दा धेरै व्यापार घाटा हुने राष्ट्रहरुमा मलेशिया, युक्रेन र कतार रहेका छन् । मलेशियासँगको व्यापार घाटा १.५४ प्रतिशत छ भने युक्रेन र कतारसँग क्रमश १.०९ प्रतिशत र १.०६ प्रतिशत रहेको छ । नेपालको व्यापार घाटा हुने शीर्ष १५ देशहरुमा अष्ट्रेलिया, ओमान, साउदी अरेबिया, जोर्डन, थाइल्यान्ड, भियतनाम र बेल्जीयम रहेका छन् ।

नेपालको सबैभन्दा धेरै व्यापार घाटा हुने देशहरु यस प्रकार रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।