चालिस प्रतिशत रद्द गर्दै छ्याङ्दीको १५० प्रतिशत हकप्रद घोषणा

0
Shares

छ्याङ्दी हाइड्रोपावर कम्पनीले यसअघि साधारण सभाबाट अनुमोदन गरेको चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव रद्द गरेर १५० प्रतिशत हकप्रद बेच्ने घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको फागुन १२ गते शुक्रबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको कम्पनी सचिव रमेश कुमार थापाले जानकारी दिए । कम्पनीको २०७८ पुस ३० गते सम्पन्न आठौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो ।

पछिल्लो बोर्ड बैठकले पुरानाे प्रस्ताव रद्द गरी हालको चुक्ता पूँजीको १५० प्रतिशत अर्थात १ः१.५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो ।  कम्पनी सचिव थापाका अनुसार कम्पनीको फागुन १२ गते अपरान्ह ४ः३० बजे बसेको संचालक समितिको ९२ औ बैठकको निर्णय नं ४ बाट आठौं वार्षिक साधारण सभाले निर्णय गरेको हकप्रद रद्द गरी नियमनकारी निकायहरुबाट स्वीकृती प्राप्त भए पश्चात हालको चुक्ता पूँजीको १५० प्रतिशत अनुपातमा हकप्रद जारी गर्ने निर्णय भएको हो । बैठकले उक्त निर्णय कम्पनीले आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ । प्रस्तावित ५८ करोड ४ लाख ६६ हजार २५० रुपेयाँको हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ९६ करोड ७४ लाख ४३ हजार ७५० रुपैयाँ पुग्नेछ ।

यसअघि चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद बेचेको कम्पनीले पछिल्लो दुई वर्षयता लगानीकर्तालाई लाभांश वितरण गरेको छैन । आव २०७५।७६ र ७६।७७ बाट भने कम्पनीले ५ प्रतिशत बोनस वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।