बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालन हुने अवस्था सृजना गर्न सिबिफिनको माग

0
Shares

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंकिङ सेवा जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमाथि अराजक गतिविधि र निमुखा कर्मचारीमाथि आक्रमण गर्ने जस्ता निन्दनीय कार्यहरु सदाका लागि रोक्नका साथै बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालन हुने अवस्थाको सृजना गर्न माग गरेको छ।

सिबिफिनले मंगलबार विज्ञप्ति जारी गर्दै वर्तमान जटिल अवस्थामा ब्याजदरको विषयलाई अतिरञ्जित बनाउँदै विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई मात्रै निशाना बनाएर ब्याज मात्र होइन, साँवा समेत नतिर्ने धम्कीसहित विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमाथि आक्रमण तथा लुटपाटका घटना भइरहेको भन्दै सिविफिनले नियोजित घटनाले बैंकिङ क्षेत्र त्रसित बनेको उल्लेख गरेको छ ।

बैंकिङ जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमाथि भएका उछृंखल, अव्यवहारिक, अराजक गतिविधि र निमुखा कर्मचारीमाथि आक्रमण गर्ने जस्ता निन्दनीय कार्यहरु सदाका लागि रोक्नका लागि कडा निर्देशन जारी गर्दै कानुन हातमा लिएर आफ्ना अभिष्ट पूरा गर्न खोज्नेहरुलाई तत्काल कठघरामा उभ्याइ आवश्यक कारवाही गर्न सरकार तथा मातहतका निकायहरुको ध्यानाकर्षण गराएको छ ।

देशको अर्थव्यवस्था नै धरासायी बनाउने गरी रचिएका अवाञ्छित क्रियाकलापहरु यसरी नै अगाडि बढ्ने हो भने भोलि स्वयं राज्य र आम जनताले व्यहोर्नुपर्ने क्षति आंकलन नै गर्न नसकिने भएकाले यसप्रति सचेत रहनु पर्ने उल्लेख गरिएको छ । अर्थतन्त्रको रक्तसंचारकोरुपमा रहेको बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालन हुने अवस्थाको सृजना गर्न सरकार, मातहतका निकाय र सरोकारवाला सम्पूर्ण पक्षहरुमा सिबिफिनले अपिल गरेको छ ।

राष्ट्रिय/अन्तर्राष्ट्रिय बजारको अवस्था, तरलताको पर्याप्तता, कर्जाको माग तथा आपूर्ति जस्ता विषयहरुले ब्याजदर निर्धारण हुने विषय पनि घाम जत्तिकै छर्लङ्ग छ । स्वयं नेपाल सरकार, आम उद्यम/व्यवसाय र सर्वसाधारण समेतले अनपेक्षितरुपमा भोगिरहेका समस्याहरुको उचित समाधानका लागि सबै जना एकजुट भएर लाग्नुपर्ने सिविफिनको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।