एप्पलले लन्च गर्यो ‘बाइ नाउ, पे लेटर’ सेवा

0
Shares

एप्पल इन्कर्पोरेशनले अमेरिकामा ‘बाइ नाउ, पे लेटर’ सेवा लन्च गरेको छ । यो सेवा अन्तर्गत एप्पलका उत्पादन खरिद गर्ने ग्राहकहरुले खरिद रकम चार किस्तामा भुक्तानी गर्न सक्नेछन् ।

एप्पल पेमा उपलब्ध हुने यो सेवा प्रयोग गर्ने ग्राहकहरुले आफूले खरिद गरेको वस्तुको मूल्य ६ हप्तासम्मका लागि चार किस्तामा भुक्तानी गर्न सक्नेछन् । ६ हप्तासम्मका लागि ग्राहकले कम्पनीलाई थप शुल्क वा ब्याज भुक्तानी गर्न नपर्ने कम्पनीले जनाएको छ ।

हाल अमेरिकाको फिनटेक क्षेत्र दुई ठूला फर्म–अर्फिम होल्डिङ्स र क्र्लानाको नियन्त्रणमा रहेको छ । एप्पलले लन्च गरेको यो सेवाले अमेरिकी फिनटेक क्षेत्रमा नयाँ आयाम निर्माण हुने विश्वास धेरैले लिएका छन् । एप्पल पेबाट गरिएको भुक्तानी स्वीकार गर्ने बैंकहरुबाट ग्राहकले एप्पलका उत्पादन खरिद गर्न सक्छन् । यी बैंकहरुबाट ग्राहकहरुले आइफोन तथा आइप्याड खरिद गर्दा बिना ब्याज ५० देखि १ हजार डलर सम्मको कर्जा समेत पाउनेछन् ।

अमेरिकाका ८५ प्रतिशत खुद्रा बिक्रेताहरुले एप्पल पेबाट भुक्तानी स्वीकार गर्छन् । एप्पलले लन्च गरेको यो सेवाले अन्य प्रतिस्पर्धी भुक्तानी प्रदायक कम्पनीहरुलाई पछि पार्ने आकलन एजे बेलका वित्तीय विश्लेषक डान्नी हिउसनले जनाएका छन् ।

एप्पलले यो सेवा लनच गरेको एक दिनमा नै अर्फिम होल्डिीङ्सको सेयर ७ प्रतिशतले घटेको छ । यस्तै पेपलको पनि सेयर १ प्रतिशतले ओरालो लागेको हो ।
सन् २०२०देखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मानिसहरुले भौतिक भुक्तानी प्रणालीको सट्टामा डिजिटल भुक्तानी सेवा प्रयोग गर्दै आएका छन् । विशेषगरी मिलेनियल्स र जेनेरेशन–जीका मानिसहरुमा डिजिटल भुक्तानी सेवा लोकप्रिय बन्दै गएको छ ।

वर्तमान अवस्थामा अमेरिकाको मुद्रास्फीति दर उच्च रहेको छ । केन्द्रीय बैंक–फेडरल रिजर्भले मुद्रास्फीति दर नियन्त्रण गर्नका लागि आक्रामक शैलीमा ब्याजदर बढाइरहेको छ । उपभोक्ताको क्रयशक्ति कमजोर भइरहेको यो समयमा एप्पलले आफ्ना उत्पादनको बिक्री वृद्धि गर्नका लागि यो सेवा उपलब्ध गराएको विश्लेषकहरुको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।