भुसाल प्लाई इन्डष्ट्रिजले क्षमता विस्तार गर्दै, वार्षिक कारोबार पौने ११ करोड

0
Shares

भुसाल ग्रुपको लगानी रहेको भुसाल प्लाई एन्ड ब्याम्बु इन्डष्ट्रिजले सन् २०२२ मा १० करोड ८० लाख आम्दानी गरेको छ ।

सन् २०२१ मा भुसाल ग्रुपले इभरग्रीन इन्डष्ट्रिज प्रालिलाई अधिग्रहण गरी भुसाल प्लाई एन्ड ब्याम्बु इन्डष्ट्रिज नामाकरण गरेको थियो । अधिग्रहण गरेको वर्षमा २० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको सन् २०२२ मा सञ्चालन आम्दानी ५ हजार ३०० प्रतिशतले बढेर १० करोड ८० लाख पुगेको हो ।

कम्पनीले बाँसको प्रयोग गरी विभिन्न सामाग्रीहरु निर्माण गर्दै आएको छ । प्लाईउड बोर्ड, ढोका लगायतका अन्य फर्निचर सामाग्रीहरु कम्पनीले निर्माण गर्दछ । नवलपरासीको रामग्राममा रहेको फ्याक्ट्रीको उत्पादन क्षमता प्रति दिन ३८ हजार ४०० वर्ग फिटको प्लाईउड रहेको छ ।

कम्पनीको उक्त क्षमता ३८ हजारबाट वृद्धि गरी १ लाख ७२ हजार ८०० वर्ग फिट प्लाईउड उत्पादन गर्ने उद्देश्यले ९२ करोड बराबरको कर्जाका लागि रेटिङ गराएको छ ।

४४ करोड ६५ लाख २० हजार बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले बी प्लस रेटिङ दिएको छ । यस्तै ४७ करोड ३४ लाख ८० हजार बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

कम्पनीको प्रमोटर नेपालको व्यापारिक घराना भुसाल ग्रुप रहेको छ । जसकारण कम्पनीलाई आवश्यक पर्ने प्राविधिक तथा वित्तीय सहयोग मिलेको छ । भुसाल ग्रुपका अध्यक्ष बालकृष्ण भुसाल नै कम्पनीका अध्यक्ष रहेका छन् । साथै कम्पनीका प्रबन्ध निर्देशक अमृत भुसाल रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।