सेयरधनीलाई हात लाग्यो शुन्य पारेको घलेम्दी हाईड्रोले २००% हकप्रद बेच्दै

0
Shares

विगत चार वर्षसम्म लगानीकर्ताहरुको हात खाली पारेको घलेम्दी हाईड्रोपावरले सेयरधनीहरुबाट भने आफ्नो चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद बेचेर रकम संकलन गर्ने भएको छ ।

सर्वसाधारणमा २०७५ पुसमा आईपीओ बिक्री गरेको कम्पनीले पछिल्लो चार वर्षमा सेयरधनीलाई कुनैपनि प्रकारको लाभांश वितरण गरेको छैन । लाभांश वितरण नगरेर सेयरधनीको हात खाली बनाएको यस कम्पनीले अर्को आयोजना निर्माणका लागि सेयरधनीहरुबाट थप पुँजी संकलन गर्न लागेको हो । कम्पनीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४, नरच्याङ्गमा ५ मेगावट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

घलेम्दी हाईड्रोपावरले चुक्ता पुँजीको २०० प्रतिशत अर्थात १ः२ अनुपातमा हकप्रद निष्कासनको बिशेष प्रस्ताव सहितका अन्य प्रस्तावहरु राखेर वैशाख १६ गते साधारण सभा आह्वान गरेको छ ।  कम्पनीको सञ्चालक समिति बैठकको निर्णय अनुसार सातौं वार्षिक साधारण सभा वैशाख १६ गते सासा बैंक्वेट नयाँबजार काठमाण्डौंमा बिहान १०ः३० बजेदेखि सुरु हुने छ ।

वार्षिक साधारण सभाले ६३ मेगावाटको छुजुङ्ग खोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर निष्काशनको विशेष प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ५५ करोड रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले १ अर्ब १० करोड रुपैयाँको हकप्रद बेच्न खोजेको हो । विद्युत नियमन आयोगको चैत १७ गतेको बैठकले कम्पनीलाई साधारण सभाबाट हकप्रद प्रस्ताव पारित गराउन स्वीकृति दिइसकेको छ ।

यस्तै सभाले हकप्रद सेयर जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनी सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सभाबाट आर्थिक वर्ष २०७८।७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले वैशाख ७ गते बिहीबारदेखि साधारण सभाको दिनसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार बैशाख ६ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।