नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रलाई विद्युत् महसुलवापत हेटौँडाका उद्योगले दुई अर्ब ५५ करोड ५२ लाख ८२ हजार आठ सय ४९ रुपैयाँ बुझाउन बाँकी छ ।
लामो समयदेखि पटक–पटक ताकेता गर्दासमेत चालु आर्थिक वर्षको हालसम्म ती उद्योगबाट महुसुल नबुझाइएको उक्त केन्द्रले जनाएको छ । केही उद्योगविरुद्ध महशुलसम्बन्धी मुद्दासमेत चलिरहको छ भने महसुल नतिर्ने पाँच सय ४२ उद्योगलाई कालो सूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ । कालोसूचीमा परेका केही ग्राहकबाट कारबाहीस्वरुप ७९ हजार दुई सय ४१ रुपैयाँ सङ्कलन भएको बताइएको छ ।
चालु आवकोे हालसम्म पाँच हजार रुपैयाँभन्दा बढी विद्युत् महसुल नतिर्ने नौ सय ७३ ग्राहकको लाईन काटेर कारबाही गरिएको केन्द्रका प्रमुख नरेन्द्रवीर श्रेष्ठले जानकारी दिए ।
कारबाहीमा परेपछि छ सय १७ जनाले जरिवाना तिरेर निवेदन दिएकाले लाइन जोडिएको र त्यसबाट दुई करोड ५३ लाख ९५ हजार रपैयाँ महसुल सङ्कलन भएको जनाइएको छ ।
हेटौँडामा ७२ हजार ६ सय ९४ ग्राहक रहेकामा वितरण केन्द्रले मासिक १९ करोड १७ लाख ८८ हजार रुपैयाँ मूल्य बराबरको विद्युत् विक्री गर्दे आएको र १८ करोड छ लाख १२ हजार रुपैयाँ महसुलबापत राजस्व सङ्कलन हुँदै आएको छ । साथै विद्युत् प्राधिकरणको पोल प्रयोग गरेबापत विभिन्न छ वटा इन्टरनेट कम्पनीले ५३ लाख पचास हजार रुपैयाँ राजस्वसमेत बुझाएको बताइएको छ ।
यसैबीच ग्रामीण विद्युतीकरणअन्तर्गत जिल्लाका हेटौँडा उपमहानगरपालिकालगायत वकैया, राक्सिरागङ, मकवानपुरगढी, कैलाश, भीमफेदी गाउँपालिकाका साथै अन्य गाउँपालिकाको ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युतीकरण थालिएको वितरण केन्द्रका इञ्जिनियर सन्तोष चौहानले वताए ।
सो कार्यका लागि १८ करोड रुपैयाँ भन्दा बढी बजेट छुट्याइएकामा कतिपय स्थानमा काम सम्पन्न भइसकेको छ भने कतिपय स्थानमा कार्य भइरहको बताइएको छ । मनहरिमा विद्युत् सवस्टेशन निर्माण प्रक्रियासमेत अगाडि बढेको जनाइएको छ ।रासस
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया