भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य


भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजल दुवैको मूल्य वृद्धि गरेर पठाएको नेपाल आयल निगमले जनाएको छ ।

भारतबाट पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा करिब साढे ६ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढेर आएको बताइएको छ । भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार निगमलाई आगामी १५ दिनमा ६० करोड रुपैयाँ नाफा हुन्छ। यही मूल्य यथावत रहे पेट्रोल लिटरमा ६ रुपैयाँ र डिजेल लिटरमा २ रुपैयाँ नाफा रहने निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा तेल उत्पादक देशहरुले तेलको उत्पादन कटौती गर्ने निर्णय गरेका थिए । जसको कारण कच्चा तेलको मूल्य उकालो लागेको थियो । जसले गर्दा भारतबाट १५ दिनमा पठाउने सूचीमा इन्धनको मूल्य बढेर आएको हो ।

चैत २० गते निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएर १७५ रुपैयाँमा झारेको थियो भने डिजलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेर १६५ रुपैयाँ कायम गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ वैशाख २०८०, सोमबार  ०६ : २५ बजे