ईङवा हाइड्रोपावरले बैशाख १३ गतेदेखि आइपीओ निष्काशन गर्दै


ईङवा हाइड्रोपावर लिमिटेडले बैशाख १३ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरिसकेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि छुट्याएको थियो। त्यसमा आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरि बाँडफाँट नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको शेयर थप गरी कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

जसमध्ये १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ भने २९ हजार ८६३ कित्ता शेयर कर्मचारीहरुको लागि तथा ७४ हजार ६५८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ। सर्वसाधारण लगानीकर्ताले अब कुल १२ लाख ६८ हजार ६३९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा बैशाख १३ गतेदेखि १७ गतेभित्र आवेदन दिनु पर्ने छ । सो अवधिमा कम्पनीको आइपीओ बिक्री नभएमा भने निष्काशन अवधि बैशाख २७ गतेसम्म लम्बिनेछ । सर्वसाधारणले उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

कम्पनीको बारेमा

कम्पनीले प्रबर्धन गरिरहेको माथिल्लो इङ्वाखोला साना जलविद्युत आयोजना (९.७ मेगावाट) को प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड १० लाख ३० हजार ९०० रुपैयाँ रहेको छ ।

चालु आवकोे पुस मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी १ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ०.०३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ २५ पैसा रहेको छ । आगामी तीन आर्थिक वर्षपछि २०८१।८२ सम्म कम्पनीले सञ्चित नाफा २१ करोड १५ लाख ७१ हजार रुपैयाँ पु¥याउने प्रक्षेपण गरेको छ । सो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ २६ पैसा कायम गर्ने लक्ष्य रहेको छ ।

आयोजनाको कुल अनुमानित लागत भने १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र बहा अवधि ३१ वर्ष बाँकी रहेको छ। आयोजनाको लगानी फिर्ता हुने अवधि ५.५५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ९.४० वर्ष रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।