प्राइम, यूनियन र गुराँस मर्ज भई दोस्रो ठूलो कम्पनी ‘हिमालयन लाइफ’ बन्ने, चुक्ता पुँजी पौने आठ अर्ब


गत वर्षको बैशाख २९ गते मर्जर सम्झौता गरेका ३ जीवन बीमा कम्पनीहरु प्राइम, यूनियन र गुराँस लाइफले १ वर्ष पछि साधारण सभा तथा विशेष साधारण सभाबाट मर्जरलाई अन्तिम रुप दिने निर्णय गरेका छन् ।

बुधबार प्राइम र यूनियन लाइफले विशेष साधारण सभा तथा गुराँस लाइफले १३ औं वार्षिक साधारण सभा बाट मर्जरलाई अन्तिम रुप दिने निर्णय गरेका हुन् ।

बुधबार सम्पन्न तीनवटै कम्पनीको साधारण सभाले ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्ने निर्णयलाई पारित गराएका छन् ।

तीन जीवन बीमा कम्पनीका बिचमा भयो मर्जर सम्झौता

तीनै कम्पनीको साधारण सभाले १ बराबर १ बराबर १ को अनुपातमा मर्जर पुरा गर्ने निर्णय गरेका हुन् । गाभिने प्रयोजनको लागि मुल्यांकनकर्ता सुबोध एण्ड एशोसिएट्स, चार्टड एकाउण्टेन्टसद्वारा तयार गरिएको तीन कम्पनीको चल–अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध ब्यवस्था समेतका आधारमा निर्धारण गरिएको तथ्यांकका आधारमा सेयर स्वाप निर्धारण गरिएको हो ।

बराबर हैसियतमा मर्ज भएपछि बन्ने हिमालयन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ७ अर्ब ८२ करोड रुपैयाँ नजिक पुग्नेछ । हाल प्राइमको चुक्ता पुँजी ३ अर्ब १४ करोड, गुराँस लाइफको २ अर्ब ५२ करोड र यूनियनको २ अर्ब १५ करोड रुपैयाँ छ ।

गुराँस लाइफको चुक्ता पुँजी २ अर्ब २३ करोड ९३ लाख रुपैयाँ रहेकोमा बुधबार सम्पन्न साधारण सभाले १३.२७ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेसँगै चुक्ता पुँजी २ अर्ब ५२ करोड माथि पुगेको हो ।

यो मर्जर प्रकृयाले पूर्णता पाएपछि चुक्ता पूँजीका आधारमा हिमालन लाइफ इन्स्योरेन्स नेपाल लाइफ पछिको दोस्रो ठूलो कम्पनी बन्नेछ ।

जीवन बीमा व्यवसायका कारण एक भए २० व्यवसायिक घराना

चालु आर्थिक वर्षको अन्त्यसम्ममा मर्जर प्रकृयालाई पूर्णता दिएर एकीकृत कारोबार सुरु गर्ने लक्ष्य तीनवटै कम्पनीले लिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।