कुल निर्यात बराबरको रकम डिजेल आयातमै ठिक्क


गत ९ महिनाको अवधिमा नेपालले एक खर्ब १८ अर्ब २७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । तर नेपालबाट भएको निर्यात र डिजेल आयात लगभग उत्तिकै मात्रामा देखिएको छ ।

९ महिनाको अवधिमा १ खर्ब १२ अर्ब ४० करोड बराबरको डिजेल आयात भएको छ । यस हिसाबले डिजेल आयातको तुलनामा कुल निर्यात करिब पाँच अर्ब रुपैयाँ मात्र बढी छ ।यस्तै ४९ अर्ब ७४ करोड रुपैयाँको पेट्रोल आयात भएको छ ।

निर्यात बराबरको रकमले नेपालमा डिजेल र पेट्रोल पनि आयात हुने देखिदैँन । ९ महिनाको अवधिमा कूल ११ खर्ब १ अर्ब ५० करोड रुपैयाँ बाहिरिएको छ । डिजेल, पेट्रोल पछि सबैभन्दा धेरै एलपी ग्यास आयातमा ४४ अर्व ८४ करोड रुपैयाँ बाहिरिएको छ भने फलाम र त्यससँग सम्बन्धित उत्पादनको आयातबापत ३० अर्ब ६३ करोड रुपैयाँ बाहिरिएको छ ।

यद्यपी गत आर्थिक वर्षको नौ महिनासम्मको तुलनामा समग्र आयातमा भने कमी आएको छ । गत आवको सोही महिनासम्म १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँको वस्तु आयात भएको थियो । यो तथ्यांकले १८ प्रतिशत आयात घटेको देखाउँछ । आयात घटे पनि निर्यात विस्तार हुन नसक्दा व्यापार घाटा कायमै छ ।

चालु आर्थिक वर्षको नौ महिना अर्थात साउनदेखि चैतसम्ममा मुलुकको कूल व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार पुगेको छ । गत वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । व्यापार घाटामा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १७.०६ प्रतिशतले कम हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।