नेपालको वैदेशिक व्यापार : १२८ देशसँग घाटा व्योहोर्दा ३५ सँग मात्रै नाफा


नेपालले चालु आर्थिक वर्ष २०७९\८० को ९ महिनामा १६३ देशहरुसँग व्यापार गरेकोमा १२८ देशसँग व्यापार घाटा व्योहोरेको छ। नेपालले वैदेशिक व्यापार गरेका ३५ देशहरुसँग मात्रै व्यापार नाफामा रहेको छ ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आवको नौ महिनाको तथ्यांक अनुसार नेपालको कुल व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार रहेको छ ।

जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १७.०६ प्रतिशत कम हो । कुल व्यापार घटेकाले नै नेपालको व्यापार घाटा घटेको देखिन्छ । गत वर्षको सोही अवधिमा नेपालको कुल व्यापार घाटा १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ थियो ।

१२८ देशसँग व्यापार घाटा

नेपालमा उत्पादित वस्तु विदेश निकास न्युन मात्रमा हुने र नेपालमा अधिक मात्रामा आयात हुने भएकोले अधिकांस देशहरुसँग व्यापार घाटाको अवस्थामा पुगेको हो । खुल्ला सिमाना भएको हुनाले सबैभन्दा धेरै निर्यात गर्न सकिने देश भारत हो तर नेपालको उत्पादन भारतसम्म पनि पुग्न सकेको छैन । भन्सार विभागका अनुसार १२८ देशसँग व्यापार गरेकोमा भारतसँग सबैभन्दा धेरै घाटा व्यापार गरेको छ । भारतसँगै व्यापार घाटाले कुल व्यापार घाटाको ६२ प्रतिशत हिस्सा ओगटेको छ ।

समीक्षा अवधिमा भारतबाट ७ खर्ब ५३ अर्ब ७५ करोड १४ लाख ७२ हजार रुपैयाँको आयात हुँदा ८२ अर्ब ९८ करोड ५३ लाख ५४ हजार रुपैयाँको मात्र निर्यात भएको छ । कुल तथ्यांकलाई हेर्ने हो भने भारतबाट मात्रै नेपाललाई ६ खर्ब ७० अर्ब ७६ करोड ६१ लाख व्यापार घाटा भएको छ । यस्तै नेपालले चीनबाट १ खर्ब ६२ अर्ब ४४ करोड बराबरको सामान तथा वस्तु आयात गरेको छ भने ६३ करोड ६८ लाख ३२ हजार बराबरको वस्तु निर्यात गरेको छ । जसकारण चीनसँगको व्यापार घाटा १ अर्ब ६१ अर्ब रहेको छ । जुन कुल व्यापार घाटाको १५ प्रतिशत हो ।

कुल व्यापार घाटाको २ प्रतिशत भन्दा धेरै हिस्सा भएका राष्ट्रहरुमा इन्डोनेशिया, युनाइटेड अरब इमिरेट्स (युएई) रहेका छन् । नेपालले इन्डोनेशियाबाट ३३ अर्ब २५ करोड १९ लाख ७५ हजार बराबरको सामान आयात गरेको छ भने १९ करोड ३३ लाख ९८ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । इन्डोनेसियासँग नेपालको व्यापार घाटा कुल व्यापार घाटाको ३ प्रतिशत रहेको छ । साथै युएईसँग व्यापार घाटा २.३५ प्रतिशत छ ।

यस्तै एक प्रतिशत भन्दा धेरै व्यापार घाटा हुने राष्ट्रहरुमा अर्जेन्टिना, मलेशिया, युक्रेन र अष्टेलिया रहेका छन् । अर्जेन्टिनासँगको व्यापार घाटाको हिस्सा १.८९ प्रतिशत छ भने मलेशियासँगको व्यापार घाटा १.८१ प्रतिशत छ । युक्रेन र अष्टेलियासँग क्रमश १.३३ प्रतिशत र १.३२ प्रतिशत रहेको छ । नेपालको व्यापार घाटा हुने शीर्ष १५ देशहरुमा कतार, ओमान, साउदी अरेबिया, जोर्डन, थाइल्यान्ड, जोर्डन र भियतनाम रहेका छन् ।

डेनमार्कसँग सबैभन्दा धेरै व्यापारिक नाफा

नेपालको वैदेशिक व्यापार सम्बन्ध रहेका कुल १६३ देशहरु मध्ये ३५ देशहरुसँग नाफा रहेको छ । सबैभन्दा धेरै व्यापार नाफा हुने देशमा डेनमार्क रहेको छ । नेपालले डेनमार्कबाट २५ करोड ६९ लाख ६० हजार बराबरको आयात गरेको छ भने डेनमार्कमा ६६ करोड १० लाख ३६ हजार बराबरको वस्तु निर्यात गरेको छ । डेनमार्कसँग नेपालले ४० करोड ४० लाख व्यापार नाफा गरेको छ ।

यस्तै १५ करोड ४० लाख २८ हजार बराबरको वस्तु नेपालले नर्वे निर्यात गरेको छ भने ७ करोड २५ लाख ३६ हजार बराबरको वस्तु आयात गरेको छ । नर्वेबाट ८ करोड १४ लाख नाफा गरेको छ । नेपालले अल्जेरियामा ७ करोड ३० लाख ३४ हजार बराबरको वस्तु निर्यात गरेको छ भने आयात शून्य छ ।

कम्बोडियामा नेपालले ११ करोड ९२ लाख बराबरको वस्तु निर्यात गरेको छ भने ५ करोड ४१ लाखको आयात गरेको छ । यस्तै व्यापार नाफा हुने देशहरुको पाँचौ स्थानमा रहेको नाइजरमा नेपालले ५ करोड २० लाख ८३ हजारको वस्तु निर्यात गरेको छ भने ३ लाख ८२ हजार बराबरको आयात गरेको छ । नेपालबाट माछा, मासु, जुटका सामानहरु, ऊन कफी, राडी पाखी गलैँचाबाट बनेका वस्तुहरु धेरै निर्यात हुने गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।