घोराही सिमेन्टले पायो प्रिमियम मूल्यमा साढे ३ अर्बको आईपीओ बेच्न अनुमति

0
Shares

घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट प्रिमियम मूल्यमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति पाएको छ । कम्पनीले बैशाख ६ गते बुधबार अनुमति पाएको हो ।

बोर्डले कम्पनीलाई ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो । जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता सेयर आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि र ७५ लाख ४६ हजार ६११ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।

कम्पनीले स्थानीय बासिन्दाका लागि अंकित मूल्य (एक सय रुपैयाँ) मा थप ३०० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ४०० रुपैयाँका दरले १५ करोड ८८ लाख ७६ हजार रुपैयाँको सेयर बिक्रीमा ल्याउनेछ । यस्तै सर्वसाधारणमा अंकित मूल्य (एक सय रुपैयाँ) मा थप ३३५ रुपैयाँ प्रिमिय थपेर प्रतिकित्ता ४३५ रुपैयाँका दरले ३ अर्ब २८ करोड २७ लाख ७५ हजार ७८५ रुपैयाँको सेयर बिक्री गर्नेछ । यसरी कम्पनीले कुल ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँको आईपीओ जारी गर्नेछ ।

घोराही सिमेन्टले २०२१ मा ६ अर्ब ९ करोड रुपैयाँ बरारको कारोबार गरेको छ । रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका अनुसार उद्योगको कारोबार २०२१ मा ७.३५ प्रतिशतले बढेको छ । सन् २०२० मा कम्पनीले ५ अर्ब ६७ करोड ४० लाख तथा २०१९ मा ८ अर्ब ८७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । उद्योगले उद्योगको क्लिंकरको वार्षिक क्षमता १ हजार ९०० टनबाट विस्तार गर्दै ३ हजार टन पुर्याएको छ । उद्योगले सगरमाथा सिमेन्टको ब्राण्डमा सिमेन्ट बिक्री गरिरहेको छ । घोराही सिमेन्टमा विशाल र संघई समूहको लगानी रहेको छ । उद्योगका अध्यक्ष पुरुषोत्तमलाल संघई हुन् । दाङमा प्लान्ट रहेको घोराही सिमेन्ट इन्डष्ट्रिज २०२१ मार्चमा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । नागरिक लगानीकोषले घोराही सिमेन्टको आईपीओको प्रत्याभूति गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।