उपनिर्वाचनले वैशाख १० गते हुने भनिएको त्रिविको परीक्षा सर्‍यो


त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ ।

वैशाख १० गते तीन स्थानमा सङ्घीय संसद्को उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख १६ गतेलाई सारिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

उनले त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले परीक्षा सार्ने निर्णय गरेको बताएका हुन् । उनका अनुसार निर्वाचन आयोग, गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचनको दिन परीक्षा परेकाले सार्न अनुरोध गरेपछि सारिएको हो ।

वैशाख १० गतेको सम्पूर्ण परीक्षा स्थगित गरी वैशाख १६ गतेका दिन सोही समय र स्थानमा सञ्चालन गर्न निर्णय गरिएको उनले बताए । अहिले स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । यही वैशाख ४ गतेदेखि परीक्षा सञ्चालन भइरहेको छ । वैशाख १० गते चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।