घोराही सिमेन्ट इण्डष्ट्रीले बैशाख १९ गतेदेखि आइपीओ निष्काशन गर्दै


घोराही सिमेन्ट इण्डष्ट्रीले बैशाख १९ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोडले प्रिमियम मूल्यमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न बैशाख ६ गते बुधबार अनुमति दिएको थियो ।

कम्पनीले जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको १ प्रतिशत अर्थात ३ करोड ९७ लाख १९ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।

यस्तै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको ७५ लाख ४६ हजार ६११ कित्ता सेयरको १० प्रतिशतले हुन आउने ७ करोड ५४ लाख ६१ हजार १०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता साधारण नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।

दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८,१९, दाङ जिल्ला, बंगलाचुली गाउँपालिका वडा नं. ३, ४ र रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं. ३, ४ का बासिन्दाहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

यस्तै वैदेशिक रोजगारमा रहेका नेपालीहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने ७ लाख ५४ हजार ६६१ कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले जेठ २ गतेसम्म आवेदन दिनु पर्नेछ सो अवधिमा उक्त कित्ता बिक्री नभएमा भने आवेदन दिने अवधि जेठ १७ गतेसम्म लक्बिने छ । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने जेठ २ गतेसम्म आवेदन दिनु पर्नेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। नागरिक लगानीकोषले घोराही सिमेन्टको आईपीओको प्रत्याभूति गरेको छ ।

कहाँबाट दिन सकिन्छ आवेदन ?

प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले हिमालयन बैंक, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, घोराही सिमेन्ट इण्डष्ट्री, प्रभु बैंक, कुमारी बैंक, एनएबि बैंक, सानिमा बैंक र ज्योति विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

 कम्पनीको बारेमा

घोराही सिमेन्टले २०२१ मा ६ अर्ब ९ करोड रुपैयाँ बरारको कारोबार गरेको छ । रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका अनुसार उद्योगको कारोबार २०२१ मा ७.३५ प्रतिशतले बढेको छ । सन् २०२० मा कम्पनीले ५ अर्ब ६७ करोड ४० लाख तथा २०१९ मा ८ अर्ब ८७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

उद्योगले उद्योगको क्लिंकरको वार्षिक क्षमता १ हजार ९०० टनबाट विस्तार गर्दै ३ हजार टन पुर्याएको छ । उद्योगले सगरमाथा सिमेन्टको ब्राण्डमा सिमेन्ट बिक्री गरिरहेको छ । घोराही सिमेन्टमा विशाल र संघई समूहको लगानी रहेको छ । उद्योगका अध्यक्ष पुरुषोत्तमलाल संघई हुन् । दाङमा प्लान्ट रहेको घोराही सिमेन्ट इन्डष्ट्रिज २०२१ मार्चमा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ४ वर्ष ८ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ८ वर्ष ५ महिना रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।