इरानबाट दैनिक एक करोड लिटर डिजेल तस्करी हुने गरेको तेहरानको दावी


इरानका उपमन्त्री जलिल सलारीले प्रतिस्पर्धात्मक मूल्यका कारण इरानबाट दैनिक औसत एक करोड लिटर डिजेल तस्करी हुने गरेको बताएका छन् ।

इरानको ‘नेशनल इरानी आयल रिफाइनिङ एण्ड डिस्ट्रिब्युसन कम्पनी’का प्रबन्ध निर्देशकसमेत रहेका सलारीले इरानको आधिकारिक समाचार संस्था इरनालाई दिएको अन्तर्वार्तामा उक्त कुराको जानकारी गराएका हुन् ।

इरानमा एक लिटर डिजेलको मूल्य आसपासका देशको तुलनामा करिब ०.८ अमेरिकी डलर कम रहेकोले इरान र उसका छिमेकी मुलुकबीच डिजेलको मूल्यमा आएको भिन्नताले तस्करीलाई आकर्षण गरेको उनले बताए । सलारीका अनुसार देशको यातायात क्षेत्रमा डिजेलको दैनिक खपत अहिले आठ करोड ४० लाख लिटर रहेको छ ।

विश्वको सबैभन्दा ठूलो तेल र ग्याँस भण्डारमा रहेको इरानले आफ्ना १० प्रशोधन केन्द्रबाट दैनिक २२ लाख ब्यारेलभन्दा बढी कच्चा तेल र ‘कन्डेन्सेट’ प्रशोधन गर्दै आएको छ । देशको दैनिक डिजेल र पेट्रोलको उत्पादन क्रमशः ११ करोडदेखि ११ करोड ५० लाख लिटरसम्म पुगेको सलारीले बताए ।

इरानी सरकारले इन्धनको प्रयोगमा अनुदान दिन्छ । यसले गर्दा इरानीहरूले इन्धन तस्करीलाई आकर्षक व्यवसाय बनाउने गरेका छन् । पछिल्लो केही महिनायता इरानी नौसैनिक बलले तस्करीको इन्धन बोक्ने ठूलो सङ्ख्यामा जहाजहरू जफत गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।