नयाँ वर्षको सुरुवातदेखि एक अर्ब पनि पुगेन दैनिक सेयर कारोबार

0
Shares

नयाँ वर्ष २०८० सुरु भएयता दैनिक सेयर कारोबार एक अर्ब पनि पुग्न सकेको छैन्। सेयर बजारका लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थामा रहँदा सेयर कारोबारमा सुस्तता आएको हो ।

वैशाख सुरु भए यता ७ कारोबार दिन बजार खुलेकोमा ५ दिन बजार ओरालो लागेको छ भने दुई दिन झिनो अंकले मात्र बढेको छ । सातै कारोबारमा दिनमा कारोबारा रकम एक अर्ब मुनी रहँदै आएको छ । यसअवधिको औसत दैनिक सेयर कारोबार ८४ करोड हाराहारी रहेको छ ।

बजारले कुनै निश्चित दिशा लिन नसक्दा लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थामा रहेका छन् । अधिकांश सूचीकृत कम्पनीहरुले तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गरेपनि कम्पनीहरुको प्रगति विवरणले लगानीकर्तामा उत्साह जगाउन नसुक्दा सेयर कारोबारमा शिथिलता देखिएको हो ।

सोमबार नेप्से २.७१ अंकले बढेर एक हजार ८ सय ८८ दशमलब ३२ विन्दुमा बन्द भएको छ । आज ७५ करोड १३ लाख ३० हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो । नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन करिब ८३ करोडको बढीको सेयर किनबेच भएको थियो।

आज कारोबार आएका १२० कम्पनीको सेयरमूल्य बढेको छ भने ८५ कम्पनीकोे घटेको छ । त्यस्तै १५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.१९ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.८५ प्रतिशत घटेको छ।

आज पिपुल्स पावर कम्पनीको सेयरमूल्य ८.११ प्रतिशतले बढेर प्रतिकित्ता ३०० रुपैयाँ पुगेको हो । त्यसैगरी, एनआईबिएल प्रगति फण्डको इकाईमूल्य करिब ८ प्रतिशत बढेको छ।

कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएको बजारमा यस कम्पनीको सर्वाधिक ८ करोड ८१ लाख रुपैयाँ बढीको सेयर किनबेच भयो । कम्पनीको सेयरमूल्य ९.६२ प्रतिशत घटेर ८०३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन सनराइज इक्विटी फण्डको इकाईमूल्य करिब ९ प्रतिशत घटेको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।