डिजिटल नेपालको बिषयमा केन्द्रित ‘डिजिटल टक’ पोडकास्ट सुरु


नेपाल इन्टरनेट फाउन्डेसनद्वारा सञ्चालित पोडकास्ट श्रंखला ‘डिजिटल टक’ वैशाख पहिलो सातादेखि सुरू भएको छ ।

उक्त पोडकास्ट सिरिज डिजिटल नेपाल फ्रेमवर्कमा भएका ८ क्षेत्र र ८० डिजिटल पहलहरूमा केन्द्रित हुनेछ ।

नेपाल इन्टरनेट फाउन्डेसनले संचालन गर्ने पोडकास्टमा डिजिटल नेपाल फ्रेमवर्क निर्माणमा महत्वपुर्ण भूमिका खेल्ने ब्यक्तिहरुसँग संवाद गरिनेछ । डिजिटल नेपाल फ्रेमवर्कमा केन्द्रित डिजिटल टक पोडकास्टले नेपालमा प्रविधिको पछिल्लो प्रवृति र विकासका बारेमा गहिरो छलफलका लागि प्लेटफर्म उपलब्ध गराउने छ ।

नेपाल इन्टरनेट फाउन्डेसनले आयोजना गरेको पोडकास्टमा सरकारी अधिकारी, प्रविधिप्रेमी, नागरिक समाज, व्यवसायरनिजी क्षेत्र जस्ता विभिन्न क्षेत्रका विज्ञहरू सहभागी हुनेछन्, जसले डिजिटल नेपाल फ्रेमवर्कले देशको डिजिटल परिदृश्यलाई कसरी रूपान्तरण गरिरहेको छ भन्ने बारेमा आफ्नो अन्तर्दृष्टि र अनुभवहरू साझा गर्नेछन् ।

डिजिटल नेपाल फ्रेमवर्क २०१९ले देशमा डिजिटल प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्न नेपाल सरकारले विकास गरेको बृहत् योजना हो । ढाँचाले दिगो आर्थिक बृद्धिलाई समर्थन गर्ने, सरकारी सेवाहरूमा सुधार गर्ने र नेपाली नागरिकहरूको जीवनस्तरमा सुधार गर्ने डिजिटल पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको छ ।

पोडकास्टले डिजिटल फाउन्डेसन, कृषिका लागि डिजिटल, स्वास्थ्यका लागि डिजिटल, शिक्षाका लागि डिजिटल, पर्यटनका लागि डिजिटल, वित्तका लागि डिजिटल र शहरी पूर्वाधारका लागि डिजिटल जस्ता डिजिटल नेपाल फ्रेमवर्कसँग सम्बन्धित विषयहरूको विस्तृत दायरालाई समेट्नेछ । डिजिटल नेपाल फ्रेमवर्क बारे सचेतना र जानकारी प्रदान गर्न, डिजिटल नेपालका आयामहरूबारे छलफल गर्न, डिजिटल नेपालको सम्भावित रोडम्याप र सफलताको बारेमा छलफल गर्ने लक्ष्य राखेको छ ।

पोडकास्टको पहिलो शृंखला डिजिटल नेपाल फ्रेमवर्क सार्बजनिक गर्दा महत्वपुर्ण भूमिका खेल्ने पुर्व सह-सचिव बिरेन्द्र मिश्रको रहेको थियो भने अबको पोडकास्ट फ्रेमवर्क लेखनमा भूमिका खेल्ने आइसिटी बिज्ञ मनोहर भट्टराईको रहेको संचालक बिक्रम श्रेष्ठले जानकारी दिए ।

श्रोताहरूले कसरी फ्रेमवर्कले विभिन्न क्षेत्रहरूमा प्रभाव पारिरहेको छ र कसरी उनीहरूले आफ्नो शिक्षा, व्यवसाय र दैनिक जीवनलाई बढाउन डिजिटल प्रविधिको लाभ उठाउन सक्छन् भन्ने बारे मूल्यवान अन्तरदृष्टि र व्यावहारिक ज्ञान प्राप्त गर्ने आशा नेपाल इन्टरनेट फाउन्डेसनले गरेको छ । पोडकास्ट युट्युब, स्पोटिफाई, एप्पल पोडकास्ट, हाम्रो पात्रो र नेपाल एफएममा सुन्न र हेर्न सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।