मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?


मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा उच्च आवेदन परेकाले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाबाट सेयर बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओ भाग्यशाली ९५ हजार ४१० जनाले प्राप्त गरेका छन् । कर्मचारीहरुबाट माग नभएको १९ हजार १९९ कित्ता सेयर पनि सर्वसाधारणलाई बाँडफाँड गरिएको छ ।

कम्पनीको आईपीओ ९५ हजार ४१० जना आवेदकलाई १० कित्ताका दरले ९ लाख ५४ हजार ११० कित्ता सेयर बाँडफाँड गरिएको हो । यसरी बाँडफाँड गरी बाँकी रहने पाँच कित्ता सेयर गोलाप्रथाबाट १० सेयर प्राप्त गर्नेलाई सहभागि गराएर पुनः ४ जनालाई थप १।१ कित्ताका दरले बिक्री गरिएको छ । यस आधारमा ९५ हजार ४१४ जनाले १० कित्ताका दरले र ४ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीको सेयर खरिदका लागि अन्तिम दिनसम्ममा १२ लाख २८ हजार २०० जनाले १ अर्ब ३५ करोड ७ लाख ९६ हजार रुपैयाँ बराबरका १ करोड ३५ लाख ७ हजार ९६० कित्ताका लागि आवेदन दिएका थिए । 

कम्पनीले कर्मचारी, सामुहिक लगानी कोष, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्टाएर बाँकी रहेको ९ लाख ३४ हजार ९१५ कित्ता सेयर बैशाख ४ देखि ७ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

कम्पनीले स्थानीय बासिन्दामा जारी गरेर अवितरित भएको ३६ हजार ८०३ कित्ता सेयर सर्वसाधारणमा थप गरेर बिक्रीमा ल्याएको थियो । कम्पनीले स्थानीय बासिन्दाका लागि ५ लाख ५ हजार ७८० कित्ता, हाइड्रोपावरमा कार्यरत कर्मचारीहरुका लागि २२ हजार ४३९ कित्ता, सामुहिक लगानी कोषका लागि ५६ हजार ९९ कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि १ लाख ८ हजार ५१७ कित्ता सेयर बाँडफाँड गरिसकेको छ ।

कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १६ लाख २७ हजार ७५० कित्ता सेयर सार्वजनिक निष्कासन गरेको हो । जसमा १० लाख ८५ हजार १६७ कित्ता आईपीओ सर्वसाधारणका लागि र ५ लाख ४२ हजार ५८३ कित्ता स्थानीय बासिन्दाका लागि छुट्याएको थियो ।

कम्पनीले सङ्खुवासभाको पिलुवाखोलामा ४.७२ मेगावाटको अपर पिलुवाखोला २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन थालिसकेको छ । कम्पनीले पिलुवाखोलामा नै ७.७ मेगावाटको अपर पिलुआ–१ आयोजना निर्माण गर्नको लागि उत्पादन अनुमति पत्र पेश गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।