ब्रोकर लाइसेन्सका लागि डेढ दर्जन आवेदकलाई ‘एलओआइ’, पुर्वाधार निर्माणको समय ६ महिना

0
Shares

नेपाल धितोपत्र बोर्डले १६ आवेदकलाई धितोपत्र दलाल कम्पनी स्थापनाका लागि आसय पत्र प्रदान गरेको छ । बोर्डले ब्रोकर लाइसेन्सको अनुमती माग गर्दै बोर्डमा निवेदन दिएका मध्ये १६ कम्पनीलाई पुर्वाधार निर्माण गर्न भनेको हो ।

बोर्डको सोमबार बसेको सञ्चालक समितिको बैंठकले नयाँ लाइसेन्स दिने गरी डेढ दर्जन आवेदक कम्पनीलाई आसय पत्र दिएको बोर्डका प्रबक्ता मुक्ति श्रेष्ठले जनाकारी दिए । “एलओआइ दिएको ६ महिना भित्र सम्बन्धीत कमपनीले पुर्वाधार निर्माण गरिसक्नु पर्छ,” उनले भने,“उक्त पुर्वाधार बोर्डले निरिक्षण गरेर योग्य ठहराएपछि अन्तिम लाइसेन्स दिने काम हुन्छ ।” आगामी दिनमा अन्य आवेदकका पनि आवेदन अध्ययन गरेर पुर्वाधार निर्माणको आसय पत्र दिने उनको भनाई छ।

बोर्डबाट एओलाई पाउनेमा ७ वटा संस्थागत लगानीका कम्पनी रहेका छन भने ९ वटा व्यक्तिगत लगानीका कम्पनी हुन । नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटिजले धितोपत्र व्यापारी (स्टक डिलर)को लागि एलओआई पाएको छ । त्यस्तै मेगा स्टक मार्केटले फुल ब्रोकर लाइसेन्स पाएको बोर्डले जनाएको छ ।

बोर्ड धितोपत्र दलाल कम्पनीको संख्या बढाउनका लागि धितोपत्र व्यवसायी नियमावलीको २ पटकसम्म संशोधन गरेर आवेदन मागेको थियो । गत असोज २ गते एक सूचना जारी गर्दै ३० दिनको अवधि राख्दै आवेदन मागेको थियो।

बोर्डले आवेदन माग गरेपछि ४६ कम्पनीले आवेदन बुझाएका थिए । तीनै आवेदक मध्ये १६ वटाले सोमबार पुर्वाधार निर्माणको आसय पत्र पाएका हुन । एलओआई पाउनेमा संशोधित नियमावली अनुसार सीमित काम गर्ने ब्रोकरको चुक्ता पुँजी २० करोड रुपैयाँ, पूर्ण कामगर्नेको ६० करोड र स्टक डिलरलाई डेढ अर्ब रुपैयाँ निर्धारण गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।