रमण कन्ट्रक्सनको अनियमितताबारे छानबिन गर्न माग


रमण कन्ट्रक्सन प्रालिले इलाम खानेपानी आयोजनाको काम सम्झौताबमोजिम नगरेको भन्दै उपभोक्ताले गुनासो गरेका छन् ।

उपभोक्ताले मंगलबार काठमाण्डौंमा पत्रकार सम्मेलन गरी रमण कन्स्ट्रक्सनले सम्झौताबमोजिमका काम नगरेको भन्दै छानबिनका लागि अख्तियार दुरुपयोगमा अनियमिताबारे जानकारी गराएका हुन् । उपभोक्ताले उक्त कम्पनीले अनियमितता गरेको भन्दै त्यसबारे छानबिन गर्नसमेत माग गरेका छन् ।

उपभोक्ता सुमन श्रेष्ठले अहिले खानेपानी नयाँ पाइपबाट वितरण भए पनि उक्त पानी सम्झौता भएअनुसारको स्थानबाट नल्याइएको बताए । “हाल खानेपानी नयाँ पाइपबाट दिइरहेको भए पनि सो पानी साविककै गिताङ र भाडी खोलाको हो, सम्झौतामा उल्लेख भएको मेवा खोला र राते खोलाको प्रति सेकेण्ड २० लिटरको पानी नयाँ पाइपमा हालिएको छैन”, श्रेष्ठले भने।

उक्त खानेपानी आयोजना एसियाली विकास बैंक (एडिबी)को सहयोगमा नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानी छ । कोरोना महामारीका कारण समयमा काम सम्पन्न नगरेको रमण कन्स्ट्रक्सनले थप गरिएको समयमा पनि काम सम्पन्न नगरेको र भएका काम पनि सम्झौताबमोजिम नभएको आरोप उपभोक्ताहरूको छ ।

“सम्झौताविपरीत गुणस्तरहीन कार्य गरेको आयोजनाका संरचना सम्झौताबमोजिम नगरिएको, मापदण्डविपरीत पाइप फिटिङ गरिएको, मिटर बक्स कमसल तथा गुणस्तरहीन जडान गरेको कारणबाट सो खानेपानीका उपभोक्तालाई दूरागामी असर परेको छ”, श्रेष्ठले भने ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।