धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन बन्द


पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज १२ बजेदेखि फेरि बन्द भएको हो ।

धुनिबेँशी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएर ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

पुलको मुखमा सडक भ्वाङ परेपछि अहिले दुबै तर्फी सवारी आवागमन बन्द भएको छ । नयाँ पुल निर्माणको लागि फाउण्डेशन खन्ने क्रममा पुरानो पुलको फाउण्डेशन भएको जमिन भासिन पुगेको हो ।

त्यही जमिन भासिएको ठाउँमा ग्याविन जाली लगाएर सवारी सञ्चालनमा ल्याइएको थियो । अहिले फेरि जाली लगाएकै ठाउँमा भ्वाङ परेको स्थानीयले बताएका छन् । एकतर्फी सडक संचालनमा ल्याइए पनि हिजैदेखि जोखिम भने टरेको थिएन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।