ठगी काण्डमा उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ


नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डौंको टोलीले आज पाण्डेलाई पेप्सिकोलाबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

उनले भने, “नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा ठगी गरेको अभियोगमा सचिव पाण्डेलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाण्डौंमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको छ ।”

प्रहरीले सचिव पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो । पाण्डे उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुअघि गृह मन्त्रालयको सचिव थिए । पाण्डे गृह मन्त्रालयको सचिव रहेका बेला नेपालीलाई भूटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २० वैशाख २०८०, बुधबार  १४ : ३२ बजे