पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव केसी पनि पक्राउ


नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् ।

प्रहरीले उनलाई आज बिहान जडीबुटीबाट पक्राउ गरेको काठमाण्डौं जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

यसैगरी सोही घटनाको अनुसन्धानका लागि पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पनि प्रहरीले चुच्चेपाटीस्थित उनकै निवासबाट आजै नियन्त्रणमा लिएको थियो । नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या १२ पुगेको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।