युवा उद्यमीलाई प्रवर्द्धन गर्ने एनवाईइएफ उद्यमशीलता सम्मेलन सम्पन्न

0
Shares

काठमाडौंमा एनवाईइएफ उद्यमशीलता सम्मेलन २०२३ सम्पन्न भएको छ । नाइफ काठमाडौंले २३ वैशाखमा मल्ल होटलमा आयोजना गरेको सम्मेलनको उद्देश्य युवा तथा महिला उद्यमीहरूलाई प्रवर्द्धन र सहयोग गर्ने रहेको थियो ।

सम्मेलनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, सांसद सोविता गौतम, नाइफ एनजीसीका अध्यक्ष रितेश लामिछाने र नाइफ काठमाडौंका अध्यक्ष चिराग गोयलले संयुक्त रुपमा गरेका थिए।

कार्यक्रममा एनवाईइएफ काठमाडौंका अध्यक्ष गोयलले देशको आर्थिक विकासका लागि युवाहरूमा रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । उद्यमशीलतामा महिलालाई प्रोत्साहन गर्न सरकारले दर्ता, कानुनी मामिला आदिमा नियम र कानुन बनाएर सहयोग गर्न सक्नेमा उनको जोड थियो ।

एनवाईइएफ उद्यमशीलता सम्मेलनमा प्यानलगत छलफलका साथै उद्यमशील यात्रा, उत्पादन र सेवाबारे प्रदर्शनी गरिएको आयोजकले जनाएको छ । नेपालको उद्यमशील इकोसिस्टममा रहेका नयाँ प्रवृत्ति र अवसरहरूबारे जान्नका लागि उद्योग विशेषज्ञहरू र भेन्चर क्यापिटलिस्टहरूसहित ५०० भन्दा बढीले कार्यक्रममा भाग लिएका थिए।

एनवाईइएफ काठमाडौं च्याप्टरले ३० भन्दा बढी स्टलहरूलाई आफ्ना उत्पादन, व्यवसाय र सेवाहरू प्रदर्शन गर्ने अवसर प्रदान गरेको थियो। स्टलहरू उद्यमीहरू बीच नेटवर्किङ र सहकार्यको लागि उत्कृष्ट प्लेटफर्म थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।