क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ


क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भनी लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भई हाल काठमाण्डौंकोे नयाँ बजार बस्ने ३४ वर्षका उद्धव नेपाल भन्ने सुवर्ण मग्रातीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले बाबुराम सापकोटासमेत चार जनालाई वैदेशिक रोजगारीका लागि क्यानडा तथा चेक रिपब्लिकलगायतका देशमा पठाउने लोभ देखाएर त्यहाँ जानका लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्ने भन्दै रकम असुलेको पाइएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

त्यहाँ पुगेपछि प्रतिष्ठित अटोमोबाइल कम्पनीमा जनरल वर्करको काम लगाइदिने र त्यहाँबाट मासिक दुई लाख रुपैयाँसम्म तलब पाइने भन्दै उनले पीडितबाट पाँच लाख रुपैयाँ असुलेको फेला परेको छ । यसरी रकम लिएपछि फरार भएका उनलाई वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन गरेको अनुरोधको आधारमा पक्राउ गरी आजै थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाइएको रेग्मीले बताए ।

नक्कली विज्ञापन गरी ठगी

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मोबाइल बिक्रीको नक्कली विज्ञापन राखी ठगी गर्नेलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका धनुषाका आदित्य कर्णले विभिन्न मोडेलका मोबाइल सेट किन्नका लागि सम्पर्कमा आएमा आएका व्यक्तिलाई पोखरा, चितवनलगायतका स्थानमा मोबाइल पसल छ भनी कुरियर, कार्गोलगायतका माध्यमबाट मोबाइल डेलिभरी गरी पठाइदिन्छु भन्दै रकम ठगी गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।