चिरायु नेशनल हस्पिटलले पनि तिरेन कर, १५ दिनभित्र सम्पर्कमा आउन ३२ कम्पनीलाई आह्वान (सूचनासहित)


आन्तरिक राजस्व कार्यालय महारागञ्जले बक्र्यौता रकम नतिर्ने चिरायु नेशनल हस्पिटल लगायत ३२ कम्पनीलाई १५ दिने अल्टिमेटम दिएको छ । कार्यालयले पटक पटक फोन सम्पर्क गर्दा पनि अटेर गरेको भन्दै १५ दिनमा कार्यालयमा उपस्थित हुन आदेश दिएको हो ।

राजस्व कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘फोन सम्पर्क, पत्राचार तथा संकलन भ्रमण गरी बक्यौता रकम दाखिला गर्न अनुरोध गरिएकामा हालसम्म रकम दाखिला भएको प्रमाण पेश नभएको र कार्यालयबाट संकलन भ्रमण गर्ने शिलशिलामा केही करदाताहरु पत्ता नलागेको भनि पत्र फिर्ता आएको र हालसम्म कार्यालयमा सम्पर्कमा नआएको हुँदा सूचना प्रकाशन गरिएको छ ।’

कर बक्यौता रकम दाखिला नगर्ने ३२ कम्पनीमध्ये १० कम्पनीले मूल्य अभिवृद्धि कर र आयकर दुवै बुझाउन बाँकी छ भने आठ कम्पनीले आयकर बुझाउन र १४ कम्पनीले मूल्य अभिवृद्धि कर बुझाउन बाँकी छ । यी कम्पनीहरुलाई १५ दिनको समयसिमा दिइएको छ । १५ दिन भित्र सम्पर्कमा नआए कारबाहीको प्रक्रियामा जाने राजस्व कार्यालय महारागञ्जले जनाएको छ ।

मूल्य अभिवृद्धि कर र आयकर दुवै बुझाउन बाँकी कम्पनीमा चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्सिच्युट प्रा. लि, होटल आर्टस काठमाण्डौ प्रा. लि, एरोमा नेपाल हर्ब्स प्रोडक्सन प्रा. लि, कालिकाप्यासिफिक जे.भिलगाएत रहेका छन् । यस्तै आयकर नबुझाउनेमा लक्ष्मी वनस्पती घ्यू उद्योग प्रा. लि., पर्फेक्ट कनेक्सन प्वाइन्ट प्रा. लि., फेवा । ओम बुद्ध जे.भी. लगाएत रहेका छन् ।

यता मूल्य अभिवृद्धि कर बुझाउन बाँकी कम्पनीहरुमा द स्पेसल कमाण्डो फोर्स सेक्युरिटी प्रा. लि., वाईवा एलिट कन्स्ट्रक्शन जे.भी.,सूर्य । वाईवा कन्स्ट्रक्शन जे.भी, लगाएत रहेका छन् ।  आयकर ऐन, २०५८ को दफा १०४ मा कुनै व्यक्तिले कर दाखिला गर्ने मितिसम्म सो कर दाखिला नगरेमा नेपाल सरकारले व्यक्तिको सम्पत्ति माथि दाबी गर्ने, दफा १०५ मा दाबी गरेको सम्पत्ति लिलाम बिक्री गर्नेदेखि दफा १११ मा कर असुलीका लागि जिल्ला अदालतमा मुद्दा दायर गर्नेसम्मको व्यवस्था छ ।

त्यसैगरी मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ मा म्यादभित्र कर नबुझाएमा महानिर्देशकको पूर्वस्वीकृति लिइ कर अधिकृतले व्यवस्थाबमोजिमका कुनै वा सबै तरिका अपनाइ कर असुल गर्ने भनिएको छ । अन्तःशुल्क ऐन, २०५८ को दफा १० ‘ज’ मा म्यादभित्र बुझाउनुपर्ने अन्तःशुल्क नबुझाएमा अन्तःशुल्क अधिकृतले विभिन्न सात उपाय अपनाएर असुल गर्नसक्ने कानुनी प्रबन्ध छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।