हाइड्रोको सेयरमा हुने चलखेल रोक्न अध्ययन समिति गठन

0
Shares

नेपाल धितोपत्र बोर्डले हाइड्रो पावर कम्पनीका संस्थापकहरुको सेयर लक इन पिरियडका साथै सेयरमा हुने चलखेल रोक्न अध्ययन समिति गठन गरेको छ ।

बोर्ड सञ्चालक समिति सदस्य फणिन्द्र गौतमको संयोजकत्वमा गठित समितिमा अर्का बोर्ड सञ्चालक सुजन कुमार काफ्ले र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य सदस्य छन् । बोर्डका उप कार्यकारी निर्देशक नारायण शर्माले सदस्य सचिवको जिम्मेवारी पाएका छन् ।

बोर्ड सञ्चालक समितिको २०७९ चैत १२ १९ गते बसेको सञ्चालक समिति बैठकको निर्णय अनुसार अध्ययन कार्यदल गठन भएको हो । हाइड्रो पावर कम्पनीका संस्थापकहरुको सेयर आईपीओ जारी गरेको तीन वर्षपछि पुरै बिक्रिी गर्न पाइने व्यवस्था छ ।

बोर्डले हाइड्रो पावर कम्पनीहरुको सेयरमा हुने चलखेल रोक्न र कम्पनीहरुलाई थप अनुशासित बनाउन कार्यदल गठन गरेर अध्ययन अघि बढाएको हो ।

उक्त समितिले तीन महिना भित्र धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ ले तोकेको अवधि पूरा गरीसकेका जलविद्युत समूहका सूचीकृत संगठित संस्थाहरूको शेयर संरचनाको विद्यामान अवस्था र सो को प्रभावका सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गरी संचालक बोर्ड समक्ष पेश गर्नेछ ।

यस अध्ययन समितिको प्रतिवेदनका आधारमा संगठित संस्थाको नियमन तथा सुपरीवेक्षणका सम्बन्धमा थप नीतिगत व्यवस्था गर्नुका साथै पूँजी बजार मार्फत राष्ट्रिय पूँजी निर्माण र परिचालनमा थप योगदान गरी समग्र राष्ट्रिय अर्थतन्त्रलाई गतिशील तथा चलायमान बनाउने अपेक्षा बोर्डले गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।