सिटि होटलको आईपिओमा १ करोड २० लाख कित्ता सेयर माग, पौने ९ लाख आवेदकले नपाउने


सिटि होटल लिमिटेडको आईपीओमा ११ लाख ७ हजार २१६ वटा आवेदन परेको छ । उल्लेखित आवेदकबाट १ करोड २० लाख ७४ हजार ८०० कित्ता सेयर माग भएको कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

सेयर निष्काशन भएको पहिलो दिनमा नै २ लाख २४ हजार ८३७ वटा आवेदन मार्फत २५ लाख ७३ हजार १४० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो ।

कम्पनीले सर्वसाधारणबाट १३ लाख ५५ हजार ९४० कित्ता सेयर खरिदका लागि आवेदन माग गरेको थियो ।

उल्लेखित तथ्यांक अनुसार १ लाख ३५ हजार ५९४ जनाले मात्र १० कित्ताका दरले सेयर पाउनेछन् भने ९ लाख ७१ हजार जना आवेदकको हात खाली हुने भएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो । जसमध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।

यस्तै ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ ।

होटलको आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम २ हजार कित्ताका लागि आवेदन दिने व्यवस्था गरिएको थियो ।

आईपीओ निष्काशनका लागि गराएको करेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।