नेपाल रिपब्लिक मिडियाको आइपीओ बिक्री खुला, कस्तो छ कम्पनी ?


नेपाल रिपब्लिक मिडियाले आज बैशाख ३१ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको छ । रिपब्लिक मिडिया सञ्चार माध्यमहरुको तर्फबाट सर्वसाधारणमा सेयर जारी गर्ने पहिलो कम्पनी हो ।

कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत बराबरको १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

जसमध्ये १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरु र २ लाख १७ हजार ६५० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ भने सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सर्वसाधारणमा सेयर जारी हुने सेयरको दश प्रतिशतले हुन आउने ४ करोड ३५ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ३५ हजार ३०० कित्ता सेयर बिक्री खुला गरेको छ ।

कम्पनीको बाँकी रहको ३५ लाख २५ हजार ४३० कित्ता साधारण सेयरमा सर्वसाधारण लगानीकर्ताले जेठ २६ गतेदेखि आवेदन दिन पाउने छन् । कम्पनीको आईपीओमा बैदेशिक रोजगारीमा रहेकाले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा आजदेखि जेठ १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो सेयर खाता मार्फत आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।

कम्पनीको बारेमा

विनोदराज ज्ञवालीको स्वामित्व रहेको नेपाल रिपब्लिक मिडिया लिमिटेडले सन् २०२२ मा २० करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । सन् २०२१ को तुलनामा रिपब्लिको आम्दानीमा १८.०२ प्रतिशतको सुधार आएको हो । सन् २०२१ मा १७ करोड २० लाख र २०२० मा २९ करोड ३० लाख रुपैयाँ कारोबार गरेको तथ्याङ्कमा छ ।

कोभिडको असरले कम्पनीको सन् २०२० को तुलनामा भने सन् २०२१ मा आम्दानी ४१.३० प्रतिशतले घटेको रेटिङ्ग एजेन्सी इन्फोमेरिक्स नेपालले जनाएको छ । कम्पनीले सन् २०२१ मा कुल आम्दानीको ६.८५ प्रतिशतले नाफा कमाएकोमा सन् २०२२ मा बढेर १२.५९ प्रतिशत पुगेको थियो । सन् २०१९ को तुलनामा कम्पनीको सन् २०२० मा आम्दानी ४३ प्रतिशतले घटेको थियो । सन् २०२० को तुलनामा २०२१ मा ४० प्रतिशतले घटेको थियो ।

रेटिङ्ग एजेन्सीका अनुसार रुस र युक्रेनबीचको द्वन्द्वका कारण कागज आयातमा भएको समस्या र मूल्यवृद्धिका कारण कम्पनीको नाफा प्रभावित बनेको हो । विश्वमा सबैभन्दा बढी पेपर निर्यात गर्ने देश रुस हो । आम्दानीमा कमी आउनुको कारण भने कोरोना महामारी र महामारीका कारण कम्पनीको प्रमुख आम्दानीको स्रोत विज्ञापनमा आएको कमीलाई जनाइएको छ ।

यो कम्पनी अन्तर्गत नेपाली र अंग्रेजी पत्रिका बाहेक रेडियो नागरिक, नागरिक न्युज डटकम, रिपब्लिका डटकम, परिवार मासिक पत्रिका छन् । ज्ञवालीको स्वामित्व रहेको मिडियाको सन् २०२२ को जुलाइसम्ममा ५५ वटै जिल्लामा नेपाली र अङ्ग्रेजी भाषामा पत्रपत्रिका उपस्थिति रहेको छ । सन् २०२० को जुलाईसम्ममा मिडियाको ७५ वटै जिल्लामा उपस्थिति थियो । हाल भने कम्पनीको उपस्थिति घटेको देखिन्छ ।
कम्पनीको लगानी फिर्ता हुने अवधि ७ वर्ष ४ महिना रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३ वर्ष ६ महिना रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।