नक्कली शरणार्थी प्रकरणमा पूर्वसभासद् शेर्पा र रामबहादुरका छोरा प्रतीक विरुद्ध पक्राउ पुर्जी जारी


नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । काठमाण्डौं प्रहरी परिसरका अनुसार जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइएको हो ।

यो प्रकरणमा ठूला नेताकै नाम जोडिन थालेपछि शेर्पा मोबाइल अफ गरेर फरार भएका छन् । पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे तथा खाँणका तत्कालीन निजी सचिव नरेन्द्र केसी पक्राउ परिसकेका छन् ।

भुटानी शरणार्थीका नाममा नक्कली व्यक्ति खडा गर्दै ठगी गरेको भन्दै उनीहरुविरुद्ध अभियोग लगाइएको छ । कांग्रेसका पूर्वसभासद् रहेका शेर्पामाथि पक्राउ परेका बिचौलियालाई हिरासतमै भेटेर नेताहरुलाई बयानमा नबोल्न भनी दबाब आरोप लागेको छ ।

२०७० सालमा रामेछापबाट शेर्पा सांसदमा निर्वाचित भएका थिए । यसैबिच नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

रामबहादुर थापा गृहमन्त्री हुँदा उनका सल्लाहकार रहेका इन्द्रजित राई पक्राउ परेपछि प्रतीक थापाविरुद्ध पनि अनुसन्धान गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।