नक्कली शरणार्थी प्रकरण : फरार पूर्वउपप्रधानमन्त्री रायमाझी पक्राउ


नक्कली भुटानी शरणार्थी प्रकरणमा परेर फरार रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाण्डौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार थिए । प्रहरीले खोजी गरिरहँदा बुधबार रायमाझीले संसद् सचिवालयलाई आफू बिरामी भएको पत्र पठाएका थिए । सोही साँझ उनका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो ।

यसैबिच जिल्ला अदालत काठमाण्डौले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ ।

यसअघि थपिएको म्यादभित्र अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाण्डौंले म्याद थपका लागि आइतबार काठमाण्डौं जिल्ला अदालतमा पेस गरेकामा अदालतबाट चार दिनको म्याद प्राप्त भएको प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । सङ्गठित अपराधमा अनुसन्धान भइरहेकाले प्रहरीले उनीहरुलाई ६० दिन हिरासतमा राखेर आवश्यक काम कारबाही अघि बढाउन पाउँछ ।

उक्त प्रकरणको अनुसन्धानमा प्रहरीले ५० दिन कटाइसकेको छ । “अब आठ–नौ दिनमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइने छ”, काठमाण्डौका प्रहरी उपरीक्षक सीताराम रिजालले भने, “यो बीचमा अन्य आरोपीहरुको खोजी, प्रमाणहरु सङ्कलन जारी नै रहनेछ ।” सरकारी वकिलको कार्यालयमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नेछ ।

घटनामा मुछिएपछि प्रहरीले थप दुईजनालाई पक्राउ पुर्जी जारी गरिसकेको छ । शुक्रबार पक्राउ पुर्जी जारी भएकामा तत्कालीन गृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक र कांग्रेसका नेता पूर्वसभासद् आङ्टावा शेर्पा छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।