वीरगञ्ज महानगरले ल्याब सेवा विस्तार गर्दै


पर्साको वीरगञ्ज महानगपालिकाले ग्रामीण क्षेत्रका चार वडामा बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र) र विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग तथा ल्याब सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

गाउँबस्तीमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउन ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ सञ्चालन गरेको महानगरपालिकाले सो कार्यक्रमलाई थप प्रभावकारी र दिगोपनका लागि ग्रामीण क्षेत्रका वडामा बर्थिङ सेन्टर विस्तारसँगै विशेषज्ञ चिकित्सकसहितको वहिरङ्ग सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।

कार्यक्रमलाई दीर्घकालीन रुपमा सञ्चालन गर्नका लागि बर्थिङ सेन्टरमा नै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने भएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका स्वाथ्य अधिकृत रितेश जयसवालले जानकारी दिए । अहिले महानगरको थप चार वडामा बर्थिङ सेन्टरबाट विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग सेवा सञ्चालन गरिने छ । अर्को वर्ष पुनः अन्य स्थानमा स्थापना भएका बर्थिङ सेन्टरबाट सेवा सञ्चालन गरिने जयसवालले बताए ।

हाल महानगरको वडा नम्बर २८ बबै र वडा नम्बर २१ लिपनी विर्तामा बर्थिङ सेन्टर सञ्चालनमा छ । चालु आर्थिक वर्ष २०७९\८० मै महानगरपालिकाले वडा १८ भवानीपुर, वडा नम्बर १९ को बिन्दवासनी, वडा नम्बर २० को हरपतगज र वडा नम्बर ३० को लालपर्सामा बर्थिङ सेन्टर स्थापना गरी विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा प्रदान गरिने उनले बताए ।

यसका लागि पाँच विशेषज्ञ चिकित्सक, १० नर्स र पाँच ल्याब टेक्निसियनको छनोट प्रक्रिया अन्तिम चरणमा छ । सो कार्य सम्पन्न भएपछि बर्थिङ सेन्टरबाटै बहिरङ्ग सेवा र ल्याब सेवा सञ्चालन गरिने जयसवाल बताउँछन् । ग्रामीण क्षेत्रमा पर्ने ती वडामा बर्थिङ सेन्टर र ल्याब सेवा सञ्चालन भएपछि वरिपरिका करिब १६\१७ वडाका नागरिक लाभान्वित हुने वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए ।

जनताको स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने भएकाले ग्रामीण क्षेत्रका ती चार वडामा बर्थिङ सेन्टर विस्तार गरी विशेषज्ञसहितको स्वास्थ्य सेवा र ल्याब सेवा सञ्चालन गर्न लागिएको उनको भनाइ छ । बर्थिङ सेन्टरबाटै विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा प्रदान गर्ने तयारी भएपछि महानगरपालिकाको तत्कालका लागि ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ स्थगित गरेको स्वास्थ्य अधिकृत जयसवालले बताए । गत २०७९ भदौ महिनादेखि सुरु भएको ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ अन्तर्गत हालसम्म १० हजार २३३ जनाले बहिरङ्ग सेवामा स्वास्थ्य परीक्षण गराएको महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाले जनाएको छ ।

महानगरपालिकाको १२ वडामा सञ्चालन गरिएको ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ अन्तर्गत कूल १० हजार आठ सय ८५ जनाले जाँचका लागि नाम दर्ता गराएकामा छ हजार चार सय २१ महिला र तीन हजार आठ सय १२ पुरुषले स्वास्थ्य परीक्षण गराएको जयसवालले बताए । यस्तै वीरगञ्ज–४ विर्तामा पनि ल्याब सेवा सञ्चालन गर्न लागिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।