हिमाल दोलखाको हकप्रदमा जेठ २२ गतेदेखि आवेदन दिन सकिने


हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट बैशाख १२ गते १० बराबर ७.५० कित्ता (७५ प्रतिशत) अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद निष्काशन गर्न अनुमति पाएको थियो ।

कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले जेठ २२ गतेदेखि असार १० गतेसम्म आवेदन दिन सक्ने छ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बैशाख २७ गते बुकक्लोज गरेको थियो। यस अनुसार बैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी बीप्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले लक्ष्मी क्यापिटल, हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ। कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ । 

कस्तो छ कम्पनी

हाल हिमाल दोलखाको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । यो पुँजीमा ७५ प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।

चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण मात्र सार्वजनिक गरेको कम्पनले सो अवधिसम्म ६ करोड ५० लाख नोक्सानी ब्यहोरेको छ । यस अवधिमा कम्पनीको जगेडा कोष ५५ करोड ५८ लाख ७ हजार रुपैयाँ ऋणात्मक भएससँगै प्रतिसेयर नेटवर्थ ६५.२६ रुपैयाँमा झरेको छ ।कम्पनीको प्रतिसेयर नेटवर्थ ६५.२६ रुपैयाँ मात्र रहेको छ ।

यस आधारमा हेर्दा कम्पनीको आईपीओ लगानीकर्ताको लगानी समेत ३४.७४ रुपैयाँ घाटामा छ । दोस्रो बजारमा सेयर खरिद गर्नेले थप घाटा ब्यहोरेका छन् । कम्पनीको सेयर बुधबार दोस्रो बजारमा प्रतिकित्ता २१० रुपैयाँ खरिद बिक्री भएको छ । कम्पनीले इलामको इलाम नगरपालिका वडा नम्बर ९ र १० मा रहेको ४.५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत् आयोजना र माई नगरपालिका वडा नम्बर ९ मा रहेको ८ मेगावाट क्षमतामा सञ्चालित माई साना क्यासकेड जलविद्युत् आयोजना हाइड्रोपावर सञ्चालन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।