जलवायु परिवर्तनका कारण कृषि उत्पादन घट्दै, खाद्य संकट बढ्ने आंकलन

0
Shares

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) को सहयोगमा नेपालको खाद्यान्न तथा कृषि क्षेत्रमा रुपान्तरण गर्नका लागि अमेरिकी सरकारको विश्वव्यापी खाद्य सुरक्षा रणनीतिको समीक्षा गरी नेपालमा कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा राष्ट्रिय स्तरको परामर्श कार्यशाला सम्पन्न भएको छ ।

अमेरिकी सरकारले विकास गरेको ग्लोबल फुड सेक्युरिटी स्ट्राटजी एक एकीकृत कार्ययोजना हो जसले ‘फिड द फ्यूचर’ योजना मार्फत विश्वव्यापी रुपमा भोकमरी, गरिबी, कुपोषण लगायतका समस्या निराकरण गर्ने उद्देश्य राखेको छ । कोभिड–१९ महामारीका कारण नेपालमा गरिबीको रेखामुनि पर्ने जनसङ्ख्या बढेर गएको छ । जलवायु परिवर्तनका कारण कृषि उत्पादन वार्षिक रुपमा घट्दै गएको छ । जसकारण देशमा खाद्य संकट, भोकमरी जस्ता समस्याहरु बढ्ने आकलन गरिएको छ ।

यो अवस्थामा युएसएडसँगको साझेदारीमा हुने ‘फिड द फ्युचर’ परियोजनाले नेपालमा कृषि आधारित आर्थिक वृद्धि, क्लाइमेट स्मार्ट कृषि र पोषणयुक्त खाद्यान्नको पहुँच वृद्धिमा काम गर्नेछ । कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माले नेपालले हाल खाद्य असुरक्षाका साथै अव्यवस्थित सहरीकरण, पशुपन्छी र मानवबीचको द्धन्द तथा कृषि योगय जमिनमा पूर्वाधार विकास लगायतका समस्या समेत भोग्दै आएको बताए ।

युएसएडले अन्तराष्ट्रिय खाद्य नीति अनुसन्धान संस्थान (आइएफपीआरआई) मार्फत नेपालमा अमेरिकी सरकारले विकास गरेको ग्लोबल फुड सेक्युरिटि स्ट्राटजी रिफ्रेस योजना लागु गरी संकट न्युनिकरण गर्न र मानिसहरुका आवश्यकताको परिपूर्तिका लागि समता तथा समावेशीमुलुक अवधारणा विकासका लागि सबै सरोकारवाला समेट्ने गरी कार्यशाला आयोजना गरेको हो ।

यो कार्यशालाले फिड द फ्युचर कार्यक्रममा मानिसहरुको सहभागिता र अपनत्व बढाउन मदत गरेको र सामुदायिक तथा राष्ट्रिय तहका सबै सरोकारवाला सहभागी भएको यस कार्यशालाले अमेरिकी सरकारको लगानी नेपालमा भित्र्याउनका लागि रणनीति तयार पार्न सहयोग गर्ने युएसएड नेपालका कृषि विकास अधिकृत डेभिड र्टहुन ग्रिस्टले बताए । उक्त कार्यक्रममा ८० जनाको सहभागिता रहेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।