तातोपानी भन्सारबाट राजस्व सङ्कलन न्यून


चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी भन्सारबाट लक्ष्यभन्दा ज्यादै कम राजस्व सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०७९\८० को वार्षिक लक्ष्य चार अर्ब ३२ करोड ९५ लाख ७५ हजार रुपैयाँ रहेकामा वैशाखसम्मको असुली दुई अर्ब ५४ करोड १४ लाख दुई हजार चार सय ८२ रुपैयाँ सङ्कलन भएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बताए ।

केसीका अनुसार वैशाखसम्मको लक्ष्य रु तीन अर्ब ८१ करोड ४५ लाख ७० हजार रहेको थियो । हालसम्म ६६ दशमलव ६६ प्रतिशत प्रगति भएको उहाँले जानकारी दिए । गत वर्षको तुलनामा केही प्रतिशत प्रगति देखिए पनि खासै प्रगति हुन नसकेको उनको भनाइ छ ।

तातोपानी नाकाबाट विसं २०७२ को भूकम्पअघि दैनिक डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो । यसपछि २०७६ जेठ १५ गते पुनः सञ्चालनमा आए पनि सो नाका विभिन्न प्राकृतिक अवरोधले पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।