करिब दुई करोडको रक्तचन्दनको तेल अवैध कारोबार


प्रहरीले झन्डै दुई करोड रुपैयाँ पर्ने रक्तचन्दनको तेल बरामद गरी कारोबारमा संलग्नलाई पक्राउ गरेको छ ।

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त तेलको अवैध कारोबारमा संलग्न आठ व्यक्तिहरुलाई पक्राउ गरी आज कारबाहीका लागि डिभिजन वनलाई बुझाइएको छ ।

काठमाण्डौं–६ चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको तेल प्रतिलिटर दुई लाख ५० हजार रुपैयाँका दरले अवैध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी ८० लिटर रक्तचन्दनको तेल बरामद गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाण्डौं पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । पक्राउ पर्नेमा काठमाण्डौं महानगरपालिका–७ चावहिल बस्ने वर्ष ३० का सुशील पाठक, कालिकोट रासकोट घर भई हाल काठमाण्डौंको चावहिल बस्ने वर्ष २८ का विनोद बराल, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१५ घर भई कलङ्की बस्ने ज्ञानबहादुर ओली रहेका छन् ।

यस्तै रामेछाप लिखु तामाकोसी घर भई काँडाघारी बस्ने नवीन दाहाल, सोही ठाउँ बस्ने गोकर्णहरि दाहाल, बाँके घर भई चावहिल बस्ने निलकान्त भुसाल । धादिङ घर भई जडिबुटी बस्ने मोहनबहादुर विश्वकर्मा पनि पक्राउ परेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १५ जेठ २०८०, सोमबार  ०५ : ५६ बजे